काठमाडौं । २०४६ का जनान्दोलनका कमाण्डर स्वर्गीय गणेशमान सिंहलाई प्रजातन्त्र पुनःस्थापना पछि लौह पुरुष उपनामले सम्बोधन गरिन्थ्यो ।
पञ्चायती शासनविरुद्ध अथक संघर्ष र प्रधानमन्त्री पद अस्वीकार गरेको कारण उनको छवि नेपाली जनमानसमा ध्रुव तारा जस्तै चम्किलो भएको थियो । सबै राजनीतिक दलका लागि पाच्य र ग्राह्य व्यक्तित्व उनै गणेशमान सिंहको प्रतिमाको सिरहामा हरिबिजोग भएको छ ।
पूर्वपश्चिम राजमार्ग ४ लेन विस्तार गर्ने क्रममा सोनापुर चोकस्थित गणेशमान उद्यान भत्काइएको छ । प्रतिमा फण्डिसनदेखि नै उखेलेर राखिएको छ । अब यो उद्यान कहाँ बनाउने, कसले बनाउने र गणेशमान सिंहको प्रतिमा कहाँ लगेर स्थापना गर्ने कसैलाई चासो छैन । सडकको किनारमा लौह पुरुषको प्रतिमा बेवारिसे अवस्थामा फालिएको दृश्य ज्यादै कुरुप देखिन्छ । जसकाे कारणा प्रतिमाको बिजोग भएको छ ।
नेपाली कांग्रेसका स्थानीय नेता तथा लौह पुरुष उद्यान निर्माणमा सक्रिय राम दयाल यादव भन्छन्, ‘२०४२ सालमा गणेशमान सिंह सोनापुर चोकमा आउनु भएको थियो । मेरै घरमा बसेर कार्यकर्ताहरुसँग भेटघाट गर्नुभयो । प्रजातन्त्र पुनःस्थापना पश्चात सुशिलचन्द्र अधिकारी, गोपाल बहादुर राउत र म मिलेर चन्दा उठाएर यो उद्यान निर्माण गरेका थियौँ । गणेशमान फाउण्डेशनबाट ३० हजार रुपैयाँ र प्रतिमा उपलब्ध गराइएको थियो । गणेशमान सिंहका सुपुत्र तथा नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह पनि यहाँ आएर प्रतिमामा मल्यापर्ण गर्नुभएको थियाे ।’
प्रजातन्त्र पुनःस्थापना पश्चात २०५० सालमा नेपाली कांग्रेसका स्थानीय पुराना पुस्ताका कार्यकर्ताहरु गोपाल बहादुर राउत, सुशिलचन्द्र अधिकारी र रामदयाल यादवको सक्रियतामा चन्दा उठाएर हालको धनगढीमाई नगरपालिका वडा नं. ११ सोनापुर चोकमा राजमार्गसँगै प्रजातन्त्रका नायक ‘लौह पुरुष गणेशमान सिंहको अर्धकदको प्रतिमा स्थापना गरेका थिए । सानो आकारको उद्यान पनि निर्माण गरिएको थियो । मधेस आन्दोलन-२०६३ मा पनि यस प्रतिमामा क्षति पुर्याइएको थियो । प्रतिमा स्थापना गर्ने मध्येका एक राम दयाल यादव भन्छन्, ‘बडो मुस्किलले अनुनय विनय गरेर हामीले यो प्रतिमा जोगाएका थियौँ । अहिले सडक बिस्तार गर्ने क्रममा भताभुङ्ग पारियो ।’
गणेशमान सिंहको उद्यान निर्माता गोपाल बहादुर राउत ८५ वर्ष नाघेका छन् । उनी यस ठाउँबाट काठमाडौं बसाईँ सरे । उनी हिँडडुल गर्न सक्दैनन् । त्यसकारण सोनापुर आउजाउ गर्न असमर्थ छन् । अर्का संस्थापक सुशील चन्द्र अधिकारी अहिले राजतन्त्र पुनःस्थापना आन्दोलनमा सक्रिय छन् ।
यता गणेशमानको प्रतिमा स्थापना गर्न भूमिका खेल्ने राम दयाल यादवले भने दशैँपछि कुनै उपाय लगाएर त्यसको व्यवस्थापन गर्ने बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया