काठमाडौं । जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले सरकार र निजी क्षेत्रको परस्पर सहयोगमा मुलुकमा ऊर्जा क्षेत्रको विकास गर्न जरुरी रहेको बताए ।
नेपाल विद्युत प्राधिकरणको ३९औँ वार्षिकोत्सवका अवसरमा आज शुभकामना दिँदै मन्त्री खड्काले मुलुकभर रहेको जलस्रोतको अधिकतम उपयोग गरी सरकारी र निजी क्षेत्रको परस्पर सहयोग तथा समन्वयबाट ऊर्जा क्षेत्रको विकास गरी मुलुकलाई समृद्ध बनाउनु जरुरी रहेको बताए।
उनले नेपालको कूल विद्युत उत्पादन क्षमता तीन हजार २०० मेगावाट पुगेको र गत आर्थिक वर्षमा मात्र करिब चार सय ६३ मेगावाट राष्ट्रिय ग्रिडमा थपिएको जानकारी दिए । मन्त्री खड्काले सन् २०३५ सम्ममा २८ हजार मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य पूरा गर्नेतर्फ सम्बद्ध निकायले थप प्रभावकारी रुपमा काम गर्न जरुरी देखिएको बताए ।
मन्त्री खड्काले सरकारले राखेको लक्ष्य पूरा गर्नसकेमा मुलुकमा पर्याप्त ऊर्जा खपत बढाउन सकिने, औधोगिकीकरणको विकास भई पर्याप्त रोजगारी सिर्जना हुने र आन्तरिक ऊर्जाको निर्यातबाट पर्याप्त मात्रामा वैदेशिक मुद्रा आर्जन गर्ने अवसर प्राप्त हुने बताए ।
‘प्राधिकरणले पछिल्लो समयमा विद्युत उत्पादन, प्रसारण तथा वितरणका क्षेत्रमा राम्रो प्रगति हासिल गर्दै आए पनि आम उपभोक्तालाई नियमित र गुणस्तरीय विद्युत सेवा प्रदान गर्न एवं जनतालाई विना झन्झट छिटोछरितो रुपमा सेवा दिनेतर्फ प्राधिकरणले जिम्मेवार भई काम गर्नुपर्ने देखिएको छ, ’मन्त्री खड्काले भने ।
उनले मुलकभित्र औद्योगिक करिडोर निर्माणगरी यस क्षेत्रका उद्योगी, व्यवसायीले मागेजतिको क्षमतामा विद्युत शक्ति दिन, दुरदराजका सबै घरमा २०८२ साल भित्र विद्युत सेवा पु-याउन, स्वदेशमा खपत हुन नसकेको अतिरिक्त ऊर्जालाई छिमेकी मुलुकमा निर्यात गर्न आवश्यक पूर्वाधार निर्माणका साथै अधिकतम ऊर्जा खपत तथा व्यापार अनुकूल हुने गरी नीतिगत, संरचनागत र कानुनी व्यवस्था मिलाउन मन्त्रालयको आवश्यक सहयोग र समन्वय हुने विश्वास व्यक्त गरे।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया