मुकुल ढकालले बुझाए स्पष्टीकरण, अध्यक्ष लामिछानेमाथि उल्टै प्रश्नै प्रश्न

लोकपथ
609
Shares
फाइल तस्बिर

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का निलम्बित महामन्त्री डा. मुकुल ढकालले आज बिहीबार पार्टीले सोधेको स्पष्टीकरणको जवाफ दिएका छन् । रास्वपाले ढकाललाई ‘तपाईंलाई साधारण सदस्यसमेतबाट किन निष्कासन नगर्ने ?’ भनेर बुधबार २४ घण्टे स्पष्टीकरण सोधेको थियो । स्पष्टीकरणको जवाफमा उनले पार्टी सभापति रवि लामिछानेमाथि प्रश्नै प्रश्न गरेका छन् ।

उनले अध्यक्ष लामिछानेले पार्टीमा विधि विधानविपरीत, थितिरहित हैकमे निरंकुश शासन चलाएको आरोप पनि लगाएका छन् । उनले लामिछानेलाई छानबिनका लागि तयार हुने आँट छ ? भनेर प्रश्न पनि गरेका छन् । उनले आफूमाथि गरिएको भनिएको कारबाहीको कागजात प्रमाणहरूको प्रमाणित प्रतिलिपि उपलब्ध गरिपाऊँ भनी लेखिएको पत्र पार्टी कार्यालयमा दर्ता नगरी उल्टै स्पष्टीकरणको पत्र पठाउनुले अध्यक्ष लामिछानेले पार्टीमा विधि विधानविपरीत, थितिरहित हैकमे निरंकुश शासन चलाइरहेको स्पष्ट भएको पनि उल्लेख गरेका छन् ।

पार्टी सभापति लामिछानेलाई सम्बोधन गरी लेखिएको स्पष्टीकरणमा उनले भनेका छन्, ‘तपाईं रवि लामिछाने, पार्टी सभापतिलाई सम्बोधन गरी ममाथि गरिएको भनिएको कारबाहीको कागजात प्रमाणहरूको प्रमाणित प्रतिलिपि उपलब्ध गरिपाऊँ भनी लेखिएको पत्र पार्टी कार्यालयमा दर्ता नगरी यसरी उल्टै स्पष्टीकरणको पत्र पठाउनु तपाईं रवि लामिछानेले पार्टीमा विधि विधानविपरीत, थितिरहित हैकमे निरंकुश शासन चलाइरहेको स्पष्ट हुन्छ ।’ ढकालले भनेका छन्, ‘मैले आजसम्म तपाईंलाई होस् वा अन्य कुनै पनि नेतालाई झूटो आरोप लगाएको छैन, ती सबै सत्यमा आधारित छन् । तपाईंले ममाथि स्पष्टीकरण सोध्नुअघि आफू नैतिक धरातलमा खडा भएको पुष्टि गर्न सक्नुपर्छ ।

नैतिक रूपले पतीत हुनु भएको छैन भने प्रश्नहरूको जबाफ दिन अनुरोध गर्दछु ।’ उनले सहकारी ठगी मुद्दामा सभापति लामिछानेमाथि पार्टीबाटै स्वतन्त्र छानबिन समिति किन गठन नहुने भन्दै प्रश्न गरेका छन् । सभापति लामिछानेले आजको दिनसम्म आफ्नो कुनै गल्ती छैन, आफूमाथि छानबिन वा अनुसन्धान पनि हुन नसक्ने जिकिर गर्दै समग्र पार्टी र आम नेपाली जनतालाई पटक–पटक ढाँटेको ढकालको दाबी गर्दै भनेका छन्, ‘म स्वयम्ले पनि तपाईंको ढाँटलाई सत्य मानेर बसिरहेको थिएँ ।

तर असार २०, २०८१ गते न्यायाधीशहरू सपना प्रधान मल्ल र सारंगा सुवेदीको सर्वोच्च अदालतको संयुक्त इजलासले तपाईंमाथि सहकारी ठगीसम्बन्धी छानबिन हुनुपर्ने फैसला गरिसकेको छ । सर्वोच्च अदालतको फैसलालाई तपाईं मान्ने कि नमान्ने ? फैसला अनुसार पार्टीभित्र पनि अनुसन्धान गर्न दिने कि नदिने ?’ देशमा सुशासन ल्याउनका लागि खोलिएको पार्टीको सभापतिले आफूमाथि लागेका आरोपको अनुसन्धान गर्न दिने हिम्मत राख्नुपर्ने उनको भनाइ छ । रास्वपाले ढकाललाई महामन्त्री, प्रवक्ता र केन्द्रीय सदस्यबाट पदमुक्त गर्ने निर्णय यसअघि नै गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?