‘माओवादीलाई भेट्नेलाई ओलीले कारबाही गर्ने प्रस्ताव ल्याएका थिए’

लोकपथ
833
Shares

काठमाडौं । पूर्व प्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले
माओवादीको सशस्त्र द्वन्द्वबाट मुलुकलाई शान्तिमा ल्याउन खेलेको भूमिकाबारे चर्चा गरेका छन् ।

बुधबार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै नेपालले तत्कालीन माओवादीलाई शान्तिप्रक्रियामा ल्याउने क्रममा भएका विभिन्न वार्ताहरुबारे तथ्य प्रस्तुत गरे ।

बैठकमा माओवादी र एमालेबीच कसरी वार्ता प्रारम्भ भएको थियो भन्नेबारेमा जानकारी गराउँदै वर्तमान प्रधानमन्त्री केपी शर्मा शर्मा ओलीले तत्कालीन समयमा माओवादीसँग वार्ता गर्नेहरुलाई कारबाही गर्नुपर्छ भन्ने प्रस्ताव ल्याएको टिप्पणी गरे ।

त्यस्तै उनले तत्कालीन समयमा एमालेका नेताहरु वामदेव गौतम र युवराज ज्ञवालीलाई आफूले वार्ताका लागि खटाएको स्मरण गर्दै त्यसरी खटिनेहरुलाई कारबाही गरिनुपर्ने प्रस्ताव ल्याएको बताए ।

उनले भने, ‘राति म धवलशमशेर जबराको घरमा बास बसेर भोलिपल्ट लखनउ गएर कुराकानी गरेको थिएँ, लखनउमा कुराकानी गरेर फर्किएर वामदेव गौतम र युवराज ज्ञवालीलाई खटाइएको हो । त्यसरी वार्ता गर्नेलाई कारबाही गर्नुपर्छ भन्ने अरु कोही होइन अहिलेका सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओली हुनुहुन्थ्यो । उहाँ माओवादीको कामबाट बढी आक्रोशित हुनुहुन्थ्यो हामी पनि कम आक्रोशित थियौँ र रु तर शान्ति प्रक्रिया टुंगोमा पुर्‍याउनुपर्ने थियो ।’

साथै उनले शान्ति प्रक्रियालाई टुंगोमा पुर्‍याउने कुरा गर्दैगर्दा ६३ हजारभन्दा बढी मुद्दा दर्ता भएको भन्दै गम्भीर अपराध ठानिएका केसलाई कसरी लिने, कसरी पीडितलाई न्याय दिने भनेर सोच्नुपर्ने बताए । उनले १२ बुँदे सहमतिका सवालमा कतिपयले भारतले गराएको भनेर भन्ने गरेपनि त्यसमा सत्यता नभएको दाबी समेत गरे ।

‘साना दुःखले ल्याएको शान्ति प्रक्रिया होइन । मन सफा हुनुपर्छ, देश र जनताको माया हुनुपर्छ’, उनले भने,‘जब शान्ति प्रक्रियामा हस्ताक्षर भयो त्यसमा हामी सहभागी भएकालाई पनि साक्षी राख्नुस् भन्दा सानो चित्त भएकाले राखेनन् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?