काठमाडौं । गृहमन्त्री रमेश लेखकसँग नेपाल भ्रमणमा आएका भारतीय विदेश सचिव विक्रम मिस्रीले शिष्टाचार भेटवार्ता गरेका छन् ।
सिंहदरबारस्थित गृह मन्त्रालयमा आज भएको उक्त भेटवार्तामा द्विपक्षीय हित र चासोका विषयमा छलफल भएको गृहमन्त्रीको सचिवालयले जनाएको छ । भेटमा गृहमन्त्री लेखकले नेपाल र भारतबीच सौहार्दपूर्ण सम्बन्ध रही आएको उल्लेख गर्दै विदेश सचिव मिस्रीको कार्यकालमा यो सम्बन्ध थप विस्तार र सुदृढ हुनेमा आफू विश्वस्त रहेको बताए ।
भारत नेपालको सुरक्षा, पूर्वाधार, उर्जा, जलश्रोतलगायतका क्षेत्रमा महत्वपूर्ण विकास साझेदार रहेको उल्लेख गर्दै उनले भारतले नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको क्षमता अभिवृद्धिसहित नेपालको पूर्वाधार निर्माणमा पु-याएको सहयोगका लागि विदेश सचिव मिस्रीलाई धन्यवाद दिए । सो अवसरमा गृहमन्त्री लेखकले नेपालको भूमि आफ्ना छिमेकी राष्ट्रहरुका विरुद्ध प्रयोग हुन नदिने प्रतिबद्धता व्यक्त गरे ।
गृहमन्त्री लेखकले नेपालमा भारत सरकारबाट भएको लगानीको पूर्ण सुरक्षा प्रत्याभूति हुने जनाउँदै सीमा क्षेत्रमा देखिने गरेको अपराध र लागुऔषध अवैध कारोबार नियन्त्रणका लागि आपसी समन्वय र सहकार्य बढाउनुपर्ने विषयमा विशेष जोड दिएको उनको सचिवालयले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया