काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको नवगठित केन्द्रीय समितिको बैठक आज आइतबारदेखि सुरु हुँदैछ ।
केन्द्रीय ललितपुरको सानागाउँस्थित थसी बैंक्वेटमा बस्ने बैठक साउन ३० गतेसम्म चल्ने छ । बैठकमा मुलुकको समसामयिक राजनीतिक विषय, पार्टीको संगठन सुदृढीकरणलगायत विषयमा छलफल हुने बताइएको छ ।
जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवका अनुसार बैठकमा वर्तमान राष्ट्रिय राजनीतिक सन्दर्भमा पार्टीको भूमिका, पार्टीको वैचारिक एवं सैद्धान्तिक अवधारण तथा संविधान संशोधनको आवश्यकता र अपरिहार्यता सम्बन्धमा छलफल हुनेछ ।
बैठकमा पहिचान र राष्ट्रिय/जातीय मुक्तिको सवाल, समाजवादसम्बन्धी अवधारणा जसपा नेपालको आदर्श, वैचारिक एवं सैद्धान्तिक अवधारण तथा संविधान संशोधनको आवश्यकता र अपरिहार्यता सम्बन्धमा छलफल हुनेछ । स्थानीय तह, प्रदेशसभा र संसदमा पार्टीको भूमिका, पार्टी विस्तार तथा सुदृढीकरण कार्ययोजना सम्बन्धमा पनि छलफल हुने जनाइएको छ ।
यस्तै, एकताको राष्ट्रिय महाधिवेशनले तय गरेको पार्टीको वैचारिक, सैद्धान्तिक, अवधारणा, वर्तमान राष्ट्रिय राजनीतिक अवस्था, वर्तमान भूराजनीतिक परिस्थिति र नेपालको परराष्ट्र नीति तथा सम्बन्धबारे छलफल हुनेछ ।
बैठकले अभियानसम्बन्धी कार्यक्रम सम्पन्न गर्न समयावधि निर्धारण गर्ने र केन्द्रीय सदस्यहरूलाई जिल्ला/महानगर/नगरलगायत स्थानीय तहहरूको अभियन्ताको रूपमा जिम्मेवारी दिइने जनाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया