नारायण गोपालका डायरी र चिठ्ठी अब पुस्तकमा

लोकपथ
742
Shares

काठमाडौं । स्वरसम्राट नारायण गोपाल बितेको ३४ वर्षपछि उनकै निवासमा प्राप्त भएका सामग्रीलाई पुस्तकको रूपमा प्रकाशन गरिने भएको छ । उनका लोकप्रिय र कालजयी गीतहरूको प्रसंगलाई समेत पुस्तकमा ल्याइने भएको छ । पुस्तकमा उनका डायरी, संस्मरण र चिठीहरू पनि समावेश गरिने भएको छ ।

नारायण गोपाल संगीत कोषका कार्यकारी अध्यक्ष दीपक केसी र बुकहिलका भुपेन्द्र खड्काबीच पुस्तक प्रकाशनको विषयमा सोमबार सम्झौतामा हस्ताक्षरसमेत भइसकेको छ । सोबारे जानकारी गराउँदै केसीले नारायण गोपालबारे उत्खनन गर्दा भेटिएका सामाग्री अब पुस्तकको रुपमा आउने बताए ।

‘नारायण गोपाल मार्ग र चोकको नाम पनि मैले नै राख्ने सौभाग्य पाएँ । पछि सालिक पनि मेरै सक्रियतामा स्थापना भयो,’ केसीले भने, ‘अहिले भवन पनि मेरै सक्रियतामा बन्दै छ र उहाँका संस्मरण र चिठीहरूको पुस्तक पनि मेरै खोज–अनुसन्धानमा प्रकाशन गर्न लागिएको छ ।’ ती सामग्रीलाई प्रकाशक बुकहिल पब्लिकेशनका अध्यक्ष भूपेन्द्र खड्कालाई हस्तान्तरण गरिएको पनि उनले जानकारी गराए ।

नारायणगोपालकी अर्धांगिनी पेमला गुरुवाचार्यको निधन भएको करिब २ दशकपछि ती डायरी र चिठीहरू भेटिएका थिए । ०१५ सालदेखि २०३५ सम्मको नारायणगोपालको व्यक्तिगत जीवनका साथै संगीत जीवन र नेपालको सामाजिक–राजनीतिक अवस्थाबारे डायरीमा लेखिएको केसीले बताएका छन् ।

पुस्तक आगामी मंसिर १९ गते नारायणगोपाल स्मृति दिवसका दिन लोकार्पण गरिने भएको छ । पुस्तकमा हालसम्म सार्वजनिक नभएका तस्वीरहरू पनि समावेश हुनेछन् । पुस्तकलाई प्रथम पुरुष शैलीमै प्रकाशन गरिने भएको छ ।

केसीकै नेतृत्वमा नारायण गोपालको सपना ‘नारायण–पेमला गीत–गंगा’ भवन पनि निर्माण भइरहेको छ । सो भवनमा एउटा अति सुविधासम्पन्न रेकर्डिङ स्टुडियो पनि बन्ने भएको छ । भवनमै खानाका सौखिन नारायण गोपालका मनपर्ने परिकारको रेस्टुरेन्ट सञ्चालन गर्ने लक्ष्य पनि रहेको केसीले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?