निर्वाचन क्षेत्रमा सोविता गौतममाथि दुर्व्यवहार

लोकपथ
553
Shares
फाइल तस्बिर

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सोविता गौतमले आफूमाथि दुर्व्यवहार भएको बताएकी छिन् ।

आज बसेको प्रतिनिधि सभाको विशेष समयमा बोल्दै आफ्नो निर्वाचन क्षेत्र काठमाडौं क्षेत्र नं २ मा आफूमाथि दुर्व्यवहार भएको बताइन् ।

उनी आइतबार दिउँसो आफ्नो निर्वाचन क्षेत्रका विभिन्न स्थानमा बाढीपहिरोको निरीक्षणमा पुगेकी थिइन् ।

सो क्रममा कागेश्वरी मनोहरा–६ स्थित मनकामना टोलमा बाढीपहिरोको निरीक्षण गरेर फर्किने क्रममा केही युवाहरुको जमातले आफूमाथि दुर्व्यवहार गरेको बताइन् ।

‘…म फर्किएर आउँदाखेरि म र मेरो स्वकीय सचिव मात्रै थियौँ । त्यहाँ (चिया पसलमा) १५–२० जना साथीहरु जम्मा भैसक्नुभएको थियो । ती साथीहरु सामान्य अवस्थामा हुनुहुन्थेन । उहाँहरुमध्ये कोही गाँजाको नशामा हुनुुहुन्थ्यो, कोही रक्सीले मात्तिएको हुनुहुन्थ्यो । कोही सामान्य अवस्थामा पनि हुनुहुन्थ्यो । एकाएक मलाई घेर्न थाल्नुभयो । तपाईँहरु बुढो मान्छेले बोलाएको ठाउँमा मात्र जाने ? भनेर मलाई प्रश्न गर्न थाल्नुभयो । चक्रब्यूह जस्तो रचियो, उहाँहरुले चर्कोचर्को स्वरमा तथानाम मुखबाट फोहोरी शब्द निकालेर मलाई घेर्ने क्रम सुरु भयो । मैले तपाईँहरुको कुरा नम्र शैलीमा राख्नुस्, भने । तर उहाँहरु एकैस्वरमा १० जना जति कराएर तैले के गरिस् ? तैले निर्वाचन क्षेत्रमा के गरिस् भन्ने किसिमले पार्टीगत किसिमका क्रियाकलापहरु त्यहाँ भएको थियो । मैले उहाँहरुलाई सानो स्वरमा बोल्न आग्रह मात्र गरेको थिए । जब मलाई त्यहाँ सुरक्षा चुनौती भएको जस्तो लागेर म चियापसलको आँगनमा गएँ । आँगनमा कसैले भिडियो उतार्दै रहेछ । त्यहाँ रहेका साथीहरुलाई मैले बिनम्रतापूर्वक राखे पनि तपाईँहरुको कुरा सुन्छु भनेको थिए । त्यति हुँदा पनि उहाँहरु मलाई दुर्व्यवहार गर्ने शैलीले बोलिरहनु भएको थियो,’ उनले भनिन् ।

उनले आफूमाथि आक्रामक शैलीमा बोल्ने युवाहरु कुनै राष्ट्रिय राजनीतिक दलसँग जोडिएका युवा रहेको समेत बताइन् । साथै खिचिएको भिडियो पनि सम्पादन गरेर आफू रिसाएको भाग मात्रै काटेर प्रस्तुत गरिएको बताइन् ।

सार्वजनिक भिडियोमा सांसद गौतम र ती युवाहरुबीच चर्काचर्की भएको देखिन्छ ।
उनले आफ्नो ज्यूज्यानको सुरक्षाको समेत माग गरेकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?