काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कांग्रेससँगको सहमति अनुसार २ वर्ष पुगेको एक सातापछि राजीनामा दिने बताएका छन् ।
उनले आफू नेतृत्वको सरकार २ वर्ष चल्ने कुरामा कुनै दुबिधा नरहेको समेत जिकिर गरे ।
मंगलबार सिंहदरबारमा उपप्रधानमन्त्री, मन्त्री र सचिवहरुसँग छलफलका क्रममा सो कुरा बताएका हुन् ।
उनले आफूले छाडेपछि कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकार बन्ने र उक्त सरकारले निर्वाचन गराउने समेत बताए ।
‘मेरो नेतृत्वको सरकार २ वर्ष चल्ने हो । २ वर्ष पुग्नुभन्दा एक साता अघि नै मैले राजीनामा गरिसकेको हुन्छु । गर्छ कि गर्दैन भन्ने कुनै दुबिधा हुँदैन । त्यसपछि शेरबहादुर देउवाजीको नेतृत्वमा चुनावसम्म जाने हो । यसमा ढुक्क भए हुन्छ सरकार कुनै प्रकारको दाउपेच छिर्के लगाएर र मन्त्री बन्न होइन ठुला पार्टीले बुझेर बनाएको हो । ढल्ने त के ढलपल पनि हुँदैन ।’
त्यस्तै आफूहरु निश्चित गन्तव्य तय गरेर हिँडेको बताउँदै जनतालाई जैविक र मानवीय आवश्यक्ताको यथोचित र न्यायोचित परिपूर्ति गराउनेमा सरकार केन्द्रीत रहने समेत बताए ।
‘हामी डिस्टिनेशन तोकेर हिँडेका छौँ । नेपाली जनतालाई जैविक र मानवीय आवश्यकताको यथोचित न्यायोचित परिपूर्ति गराउनेमा सरकारको फोकस हुन्छ, ’ उनले भने ।
आजको बैठकमा प्रधानमन्त्री ओलीले विभिन्न मन्त्रालयगत कामका विषयमा सचिवहरुलाई निर्देशन समेत दिएका छन् ।
गत साउन १७ गते कांग्रेस र एमालेबीच आलोपालो सरकार चलाउने सहमति भएको थियो । जसअनुसार पहिलो कार्यकाल ओली र दोस्रो कार्यकाल देउवाले सरकारको नेतृत्व गर्ने तय भएको हो । गत असार ३० गते प्रधानमन्त्री नियुक्त भएका ओलीले २०८३ साल असार ३० गतेसम्म सरकारको नेतृत्व गर्नेछन् । त्यसपछि कांग्रेस सभापति देउवाले चुनावी सरकारको नेतृत्व गर्नेछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया