काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पराजुलीले देशको भूगोललाई सुहाउँदो प्रमुख शहरहरुको व्यवस्थित ठेगाना प्रणाली लागु गर्न सरकारसँग माग गरेका छन् ।
मंगलबार प्रतिनिधिसभाको बैठकमा विशेष समयमा बोल्दै उनले ठेगाना प्रणालीलाई व्यवस्थित बनाउन नसकिएमा शहर विकास गरेको कुनै औचित्य नहुने भन्दै व्यवस्थित ठेगाना प्रणाली लागू गर्न माग गरे ।
उनले भने,‘देशको राजधानी जस्तो शहरको विकासका लागि एकदमै आवश्यक व्यवस्थित ठेगाना प्रणालीबारे बारम्बार उठाइरहेको छु । ठेगाना प्रणालीलाई व्यवस्थित बनाउन सकिएन भने सहर विकास गरेको कुनै औचित्य हुँदैन ।
म देशका सबै प्रमुख शहरहरुको व्यवस्थित एकै किसिमको ठेगाना प्रणाली लागु गर्न माग गर्दछु । एउटा नागरिक विरामी हुँदै गर्दा एम्बुलेन्स कहाँ पठाउने ? एक घरमा दुर्घटना हुँदै गर्दा दमकल कहाँ पठाउने ? न्यूनतम आवश्यकतालाई मध्यनजर गरेर यही आर्थिक विकासभित्र सरकारले भूगोल सुहाउँदो ठेगाना प्रणाली लागु गर्न माग गर्दछु ।’
उनले प्रधानमन्त्रीले भ्रष्टाचार गर्दिन,गर्न दिने छैन र कुनै पनि कालखण्डमा गरेको भ्रष्टाचारमा कडा रूपमा प्रस्तुत हुन्छु भनेर सदनमा प्रतिबद्धता जनाएको भन्दै उक्त वाक्यांश कसका लागि लक्षित गरेको भन्दै प्रश्न गरे ।
विगतको ३३ वर्ष राज गर्दै गर्दा, सत्ता सञ्चालन गर्दै गर्दा भ्रष्टाचारमा चुर्लुम्म को डुबेको हो ? कोप्रति लक्षित गरेर कसलाई कारबाही गर्ने भनेको भन्दै आक्रोशित भए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया