काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रतिनिधिसभाबाट विश्वासको मत लिँदै छन् । दुई तिहाइ बहुमत पुर्याउने रणनीतिमा रहेका प्रधानमन्त्री ओलीलाई सो संख्या पुर्याउन राप्रपाले साथ दिएको खण्डमा उनले सहजै दुई तिहाइ मत पाउने छन् । राप्रपाले साथ नदिएको खण्डमा भने साना दल र स्वतन्त्र सांसद निर्णायक बन्ने छन् ।
नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्षसमेत रहेका ओली नेपाली कांग्रेसको समर्थनमा प्रधानमन्त्री नियुक्त भएका हुन् । एमाले, कांग्रेस गठबन्धनको सरकारमा अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) र महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) सहभागी भइसकेको छ । प्रतिनिधिसभामा कांग्रेसको ८८, एमालेको ७७ (सभामुख र एक सांसद टोपबहादुर रायमाझी निलम्बित बाहेक), जसपाको ७ र लोसपाको ४ सिट छ ।
मधेस प्रदेशमा जनमत पार्टीका नेता मुख्यमन्त्री सतिष सिंह नेतृत्वको सरकारमा एमाले, कांग्रेससमेत सहभागी भएकाले ओलीलाई जनमतले पनि विश्वासको मत दिने अवस्था छ । जनमतको ५ सिटसहित स्वतन्त्र सांसद डा. अमरेशकुमार सिंह, योगेन्द्र मण्डलले विश्वासको मत दिँदा १ सय ८३ हुन्छ । जबकी प्रतिनिधिसभामा २ सय ७५ सिट रहेकाले दुई तिहाइ बहुमतका लागि १ सय ८४ सिट आवश्यक पर्छ । बहुमत (१३८)का लागि कांग्रेस र एमाले नै पर्याप्त हुँदा दुई तिहाइ बहुमतका लागि राप्रपा वा साना साना दलको समर्थन अनिवार्य भएको हो ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलको बैठक अहिले साढे ११ बजे बस्दै छ । बैठक संसदीय दलको कार्यालय सिंहदरबारमा बस्ने प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिए । उनले भने, ‘आजको बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिने वा नदिने भन्ने विषयमा निर्णय गर्ने छ ।’ उक्त पार्टीको शनिबार भएको पार्टी निर्देशन समितिको बैठकले प्रधानमन्त्री ओलीलाई विश्वासको मत नदिन उपयुक्त हुने सुझाव दिएको थियो । यदि राप्रपाले विपक्षमा मत दिएको खण्डमा दुई तिहाइ बहुमतका लागि ओलीले एक सिट रहेको आमजनता पार्टी (आजपा), नेपाल मजदुर किसान पार्टी (नेमकिपा) वा जनमोर्चालाई समेत विश्वासमा लिनुपर्ने हुन्छ ।
वा ५ सिट रहेको जनता समाजवादी पार्टी नेपाल (जसपा)लाई विश्वासमा लिनुपर्ने बाध्यतामा ओली रहेका छन् । ओलीलाई विश्वासको मत दिने नदिने भन्नेबारे जसपा, आजपा, नेमकिपा, अनिर्णित छन् । जनमोर्चाले भने विपक्षमा मत दिने बताइसकेको छ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)को ३२, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को २१, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को १४, नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)को १० प्रतिनिधिसभामा रहेको छ । माओवादी केन्द्र, रास्वपा, एकीकृत समाजवादी, राप्रपा र आजपाले ओलीलाई विश्वासको मत नदिने निश्चित रहेको छ । ओलीको विपक्षमा ७९ सांसद उभिने निश्चित रहेको छ । साना दलले विश्वासको मत नदिँदा दुई तिहाइ पुर्याउन नसकिने भएकाले ओली साना दललाई फकाउने प्रयास गरिरहेका छन् । साना दल अझै ‘पर्ख र हेर’को अवस्थामा छन् ।
एमालेले ओलीलाई विश्वासको मत दिन ह्विप जारी गरेको छ । कांग्रेसले आइतबार नै संसदीय दलको बैठक बोलाएको छ । आइतबार नै अधिकांश दलले संसदीय दलको बैठक बोलाएर निर्णय गर्न लागेका छन् । कांग्रेसको समर्थनमा ३० असारमा प्रधानमन्त्री नियुक्त भएका ओलीले ३१ असारमा शपथ ग्रहण गरेका थिए । उनलाई संविधानको धारा ७६ को उपधारा २ बमोजिम प्रधानमन्त्रीमा राष्ट्रपति रामचन्द्र पौडेलले नियुक्त गरेका थिए । प्रधानमन्त्रीको शपथ लिएलगत्तै उनले मन्त्रिपरिषद् समेत गठन गरिसकेका छन् । संविधानअनुसार प्रधानमन्त्री नियुक्त भएको ३० दिनभित्र संसद्मा विश्वासको मत लिनुपर्ने प्रावधान रहेको छ । सोही प्रावधानअनुसार प्रधानमन्त्री ओलीले विश्वासको मत लिन लागेका हुन् । एमाले र कांग्रेसबीच १७ असारमा भएको सहमतिअनुसार संविधान संशोधनसमेत गर्ने गरी यो गठबन्धन बनेको हो । संविधान संशोधनका लागि दुई तिहाइ बहुमत आवश्यक पर्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया