चरित्र हत्या गरेमा कारबाही गर्ने साइबर ब्यूरोको चेतावनी

लोकपथ
168
Shares

काठमाडौं। सामाजिक सञ्जालको दुरुपयोग गर्दै चरित्र हत्या गर्ने क्रम बढेको भन्दै साइबर ब्यूरोले कारबाहीको चेतावनी दिएको छ । मङ्गलवार एक विज्ञप्ति जारी गर्दै ब्यूरोले व्यक्तिको चरित्र हत्य हुने सम्बन्धी सामाग्री उत्पादन, प्रकाशन तथा प्रसारण र सामाजिक सञ्जालमा पोष्ट गरेमा त्यस्तो गर्नेलाई कारबाही गर्ने चेतावनी दिएको हो ।

ब्यूरोका प्रवक्ता एसपी दिपक राज अवस्थीबाट जारी विज्ञप्तिमा कसैले व्यक्तिको चरित्र हत्या हुने सामाग्री प्रचारप्रसार गरी पीडितको सामाजिक र पारिवारिक चरित्र हत्या गरेमा त्यस्तालाई कानुनी दायरामा ल्याउने समेत चेतावनी दिएको छ ।

ब्यूरोको विज्ञप्तिमा भनिएको छ, ‘पछिल्लो समय सामाजिक सञ्जालको सदुपयोग सँगै दुरुपयोग पनि बढ्दै गई विशेष रूपमा व्यक्तिको चरित्रमा निर्मम आघात पुर्‍याउने उद्देश्यका साथ अतिरञ्जित तवरबाट भ्रामक अभिव्यक्ति सहितका सामाग्री तयार गरी सामाजिक सञ्जालका प्लेटफर्महरूबाट प्रचारप्रसार गरी/गराई पीडितको सामाजिक र पारिवारिक रूपमा चरित्र हत्या गर्ने गराउने घटनाक्रम बढ्दै गइरहेको पाइएको हुँदा यस प्रकारका गतिविधि नगर्न/नगराउनु हुन साइबर ब्यूरो अनुरोध गर्दछ । साथै यस्ता कार्य गरेको/गराइएको पाइएमा त्यसको जवाफदेही स्वयम् आफै हुनुपर्ने भएको हुँदा कानुनी झन्झटमा पर्नबाट जोगिनु हुन समेत नेपाल प्रहरी साइबर ब्यूरो आम नागरिकमा अनुरोध गर्दछ ।’

ब्यूरोले सामाजिक सञ्जालबाट व्यक्तिको चरित्र हत्या गरेको, अतिरञ्जित सामाग्रीको उत्पादन तथा प्रकाशन गरेको लगायतका कसुरमा यसअघि नै अभियन्ता तारा बराललाई पक्राउ गरेको थियो । सोमबार मात्रै ब्यूरोले सोही कसुरमा शोभा पाठकलाई समेत पक्राउ गरी ५ दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?