सन्दीप लामिछाने एकसाता अगावै क्यानडा पुगेका थिए, तर राखियो अत्यन्तै गोप्य

लोकपथ
7.3k
Shares

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेले आफू विश्वकप खेल्न वेष्ट इन्डिज पुगेको कुरा सामाजिक सञ्जाल फेसबुकमा हिजो मात्रै पोष्ट गरेको भएपनि उनी एक हप्ताअघि नै त्यहाँ पुगेको खुलासा भएको छ । यो कुरा अरु कसैले नभई नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्द स्वयंले खुलासा गरेका हुन् ।

उनी एक साताअघि नै वेष्ट इन्डिज पुगेको भएपनि किन गोप्य राखियो त ? अध्यक्ष चन्दको जवाफ थियो, ‘नेपालबाट सबैलाई थाहा दिएर फूलमाला खादा लगाएर हिँड्दा विभिन्न बाधा अड्चन आउन सक्ने भएकाले सबै काम गोप्य रुपमा गरिएको हो । हिजोजस्तो स्थिति नहोस् भनेर हामीले सचेतता अपनाएका हौं ।’

उनले थपे, ‘सन्दीप लामिछाने अफिसियल्ली हिजो मात्रै वेस्ट इन्डिज पुगेको हो । तर, एक हप्ता अगाडि नै ऊ नेपालबाट हिँडेको कसैलाई थाहा थिएन । टोरन्टोबाट वेस्ट इन्डिजको सेन्ट भिन्सेन्टका लागि रेगुलर फ्लाइट हप्तामा एक दिन मात्रै हुँदो रहेछ । क्यानले चार्टर फ्लाइट गर्न सक्ने अवस्था थिएन । त्यसैले उसलाई एक हप्ता अगाडि नै बोलाएर राखियो ।’

क्यानडामा सन्दीपलाई क्रिकेट एकेडेमीमा राखिएको थियो । त्यहाँ उनले नियमित अभ्यास गरेको र उनलाई नेपालका पूर्व प्रशिक्षक पुबुदु दासानायकेले सहयोग गरेको चन्दले बताए । सन्दीपलाई वेस्ट इन्डिज पु¥याउन क्यानका सचिव पारस खड्का र म्यानेजर विनोद दासलाई आफूले सबै जिम्मा दिएको र उहाँहरुले निकै मिहिनेतपूर्वक सन्दीपलाई वेस्ट इन्डिज पु¥याउन सफल भएको बताए ।

त्यसो त सन्दीप एक हप्ताअघि नै त्यहाँ पुगिसकेको भएपनि उनले चार दिनअघि ७ जुनमा फेसबुकमा मनकामना मन्दिर दर्शन गरेको फोटो पोस्ट गरेका थिए । यसले उनी त्यो दिनसम्म पनि नेपालमै रहेको अनुमान गरिएको थियो ।

सन्दीपले हिजो मात्रै फेसबुकमा लेखेका थिए ‘मलाई अमेरिकाको भिसा प्राप्त गर्न सहयोग गरेकोमा सर्वप्रथम म नेपाल सरकार, परराष्ट्र मन्त्रालय, खेलकुद मन्त्रालय, राष्ट्रिय खेलकुद परिषद्, र नेपाल क्रिकेट संघ (क्यान) लाई धन्यवाद दिन चाहन्छु तर दुर्भाग्यवश त्यो सफल हुन सकेन, तर ती सबै कुरालाई पन्छाएर, म अब वेस्ट इन्डिजमा अन्तिम दुई खेलका लागि राष्ट्रिय टोलीमा आबद्ध छु र मेरो सपना र सबै क्रिकेट प्रेमीहरूको सपना पूरा गर्न तत्पर छु ।’

उनले थप लेखेका छन्, ‘मेरो सहयात्रालाई सम्भव बनाउनका लागि हाम्रा अध्यक्ष चतुरबहादुर चन्द सर, सचिव तथा मेरो प्यारो पारस खड्का दाइ, मेरो वकिल सरोज घिमिरे दाइ, विनोद दास दाइ र प्रबल दाइ र प्रिय बालकृष्ण दाइलाई हार्दिक धन्यवाद दिन चाहन्छु ।’

क्रिकेट एशोसिएसन अफ नेपाल (क्यान)का सचिव पारस खड्काका अनुसार वेस्टइण्डिजमा हुने खेलमा लामिछाने राष्ट्रिय क्रिकेट टोलीमा समावेश भएर खेल्ने छन् ।

आईसीसीको समन्वयमा लामिछानेले वेष्टइण्डिजमा हुने खेल खेल्न लागेको र उनले प्रतिश जिसीको स्थान लिने क्यानले जनाएको छ । वेष्टइन्डिजमा नेपालले दक्षिण अफ्रिका र बंगलादेशविरुद्धका खेल खेल्ने छ ।

यसअघि नेपालले पहिलो खेल अमेरिकाको डालसमा नेदरल्याण्ड्ससँग खेलेको थियो । सो खेलमा नेपाल पराजित भएको थियो । दोस्रो खेल भने बुधबार बिहान न्यूयोर्कमा श्रीलंकासँग खेल्दैछ । त्यसपछि थप दुई खेलका लागि नेपाल वेष्टइन्डिज जानेछ ।

उता, क्रिकेटर सन्दीप लामिछानेले टी–२० विश्वकपमा सहभागी हुन आफू वेस्ट इन्डिज पुगिसकेको सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी दिएका छन् ।

चतुरबहादुर चन्द र पारस खड्काको छवि धुमिल बनाउने प्रयासबाट आफू दुःखी भएको पनि उनले बताएका छन् । क्यान र नेपाली क्रिकेटको छवि खराब गर्ने प्रोपोगान्डाको पछि नलाग्न पनि उनले आग्रह गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?