यस्तो छ प्रतिनिधि सभाको १४ असारसम्मको कार्यतालिका

लोकपथ
98
Shares

काठमाडौं । संघीय संसद्अन्तर्गतको प्रतिनिधि सभाले १४ असारसम्म संसदले गर्ने कामको कार्यसूची सार्वजनिक गरेको छ । सोमबार बसेको प्रतिनिधि सभाको कार्यव्यवस्था परामर्श समितिले गरेको निर्णयअनुसार संघीय संसद सचिवालयले प्रतिनिधि सभा नियमावलीको नियम २२५ बमोजिम पाक्षिक संसदीय क्यालेन्डर तयार गरी सार्वजनिक गरेको हो ।

वेभसाइटबाट सार्वजनिक क्यालेण्डरमा अब जेठमा ४ दिन र असारमा ७ दिन प्रतिनिधि सभा बैठक बस्ने उल्लेख छ ।
प्रतिनिधि सभामा आजदेखि बजेटको मन्त्रालयगत छलफल सुरु हुँदैछ । असार ७ गतेसम्म हरेक दिन निरन्तर छलफल चलाउने र बजेट पारित गरिने भएको छ ।

आज मंगलबार प्रतिनिधि सभामा मंगलबार चार वटा मन्त्रालय अन्तर्गत विनियोजन भएको बजेटमाथि छलफल गर्ने कार्यसूची छ । जसमा युवा तथा खेलकुद मन्त्रालय, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र कृषि तथा पशुपंक्षी विकास मन्त्रालय रहेका छन् । भोलि बुधबार सहरी विकास, रक्षा, महिला, बालबालिका तथा जेष्ठ नागरिक र कानुन न्याय तथा तथा संसदीय मामिला मन्त्रालयको बजेटमाथि छलफल हुनेछ ।

बिहीबार जेठ ३१ गते उद्योग, वाणिज्य तथा आपूर्ति, भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बजेटमाथि छलफल हुनेछ । जेठ ३२ गते वन तथा वातावरण, खानेपानी, सञ्चार तथा सूचना प्रविधि र संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको बजेटमाथि छलफल हुनेछ ।

असार २ गते संघीय मामिला तथा सामान्य प्रशासन, ऊर्जा, जलस्रोत तथा सिँचाइ र अर्थ मन्त्रालयको बजेटमाथि छलफल हुनेछ ।
असार ४ गते गृह, परराष्ट्र, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद््को कार्यालय, राष्ट्रिय योजना आयोग उपराष्ट्रपतिको कार्यालय र राष्ट्रपतिको कार्यालयसँग सम्बन्धित बजेटमाथि छलफल हुनेछ ।

असार ५ गतेदेखि सम्बन्धित मन्त्रीले जवाफ दिन थाल्नेछन् । असार ५, ६ र ७ गते सम्बन्धित मन्त्रीहरुले जवाफ दिएपछि बजेट पारित गर्ने कार्यतालिका छ । अर्थमन्त्री वर्षमान पुनले यही जेठ १५ गते आगामी आर्थिक वर्षका लागि १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँको बजेट ल्याएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?