पूर्वपत्नी बलात्कार कसुरमा निलम्बित न्यायाधीश गिरीलाई ७ वर्ष जेल सजाय

लोकपथ
427
Shares

काठमाडौं । पूर्वपत्नीलाई बलात्कार गरेको मुद्दामा दोषी ठहर भएका निलम्बित न्यायाधीश भुवन गिरीविरुद्ध ७ वर्ष कैद सजायको फैसला भएको छ । साथै तीन लाख रुपैयाँ जरिवाना र सो रकम क्षतिपूर्तिका रूपमा पीडितले पाउने फैसला भएको छ ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश दुर्गाबहादुर भुसालको इजलासले सोमबार सो फैसला गरेको हो ।

सम्बन्ध विच्छेद भइसकेर पनि गिरीले पूर्वश्रीमतीसँग सहमतिबिना शारीरिक सम्बन्ध राखेको भनी मुद्दा परेको थियो । गत जेठ १३ गते न्यायाधीश भुसालकै इजलासले गिरीलाई बलात्कार मुद्दामा दोषी ठहर गरेको थियो ।

जिल्ला अदालत कपिलवस्तुमा न्यायाधीश रहेका गिरीविरुद्ध उनकै पत्नी आरती रावलले गत वर्षको वैशाख १९ गते मुद्दा दायर गरेकी थिइन् । मुद्दाअघि बढेपछि निलम्बित गिरीलाई सर्वोच्च अदालतको चैत २१ गतेको आदेशले थुनामा पठाएको थियो । उनले गत वैशाख ३ गते जिल्ला अदालतमा आफै उपस्थित भएर आत्मसमर्पण गरेका थिए ।

रावल र गिरीले २०७५ सालमा विवाह गरेका थिए । विवाहपछि उनीहरुको दाम्पत्य सम्बन्ध बिग्रियो । आफूलाई बन्धक बनाएर कुटपिट, घरेलु हिंसा, यौनशोषण र हिंसा, अप्राकृतिक मैथुन गरेको भन्दै रावलले पतिविरुद्ध ०७९ मंसिर २ मा कपिलवस्तु जिल्ला प्रहरी कार्यालयमा उजुरी हालेकी थिइन् । कपिलवस्तु अदालतमा वैवाहिक बलात्कार मुद्दा दर्ता भएको थियो ।

कपिलवस्तु जिल्ला अदालतले चैत २० गते गिरीविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो । त्यसपछि गिरी मुद्दा फिर्ता गराउन सक्रिय बनेका थिए । यही क्रममा गिरी ०७९ चैत २७ गते रावलको सामाखुसीस्थित डेरामा पुगेर बलात्कार गरेको भन्दै पत्नी रावलले जिल्ला अदालत काठमाडौंमा बलात्कार कसुरमा मुद्दा हालेकी थिइन् ।

पतिबाटै बलात्कार भएको मुद्दा किनारा लगाउन अदालतले ढिलासुस्ती गरेको भन्दै उनले २०८० असार १० देखि दुई महिनासम्म अनशन बसेकी थिइन् । उनले २०८० माघ १ देखि दोस्रो चरणको अनशन थालेकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?