‘आधुनिकीकरणको चिनियाँ मार्गको अभ्यास’ विमोचन

लोकपथ
35
Shares

काठमाडौं । नेपाली आँखाबाट ‘आधुनिकीकरणको चिनियाँ मार्गको अभ्यास’ नामक पुस्तक विमोचन भएको छ । काठमाडौंमा एक कार्यक्रमकाबीच थ्रि एस मिडियाद्वारा प्रकाशित थ्रु नेपाली आइजः द प्राक्टिस अफ चाइनिज पथ टु मोडरनाइजेशन नामक पुस्तक विमोचन भएको हो ।

यो पुस्तक जनवादी गणतन्त्र चीनको चिनियाँ कम्युनिष्ट पार्टी,अन्तर्राष्ट्रिय विभागको निमन्त्रणमा नेपालका कला, संस्कृति, इतिहास र पत्रकारिता क्षेत्रमा लामो समयदेखि सक्रिय व्यक्तिहरुले गरेको ११ दिन लामो चीन भ्रमण सम्पन्न गर्दा चीनबाट बटुलेको अनुभवलाई पुस्तकमा उतारिएको छ ।

आधुनिकीकरणको यात्रामा प्रवेश गर्दै गरेको चीनको सुदूरपश्चिम–दक्षिणको सिचाङ प्रान्त हुँदै सुदूरपूर्व–दक्षिणको तिब्र गतिको आधुनिकीकरणको प्रक्रिया सम्पन्न भएको चच्याङ प्रान्तको यात्रा र वर्तमान आधुनिकीकरणको अनुभव पुस्तकमा समेटिएको छ । कार्यक्रममा बोल्दै प्रेस काउन्सिल नेपालका बोर्ड सदस्य ठाकुर बेलवासेले चिनियाँ नागरिक आधुनिक विकास र अनुसन्धानमा उत्कृष्ट रुपमा लागेको अनुभव गरेको बताए । उनले छिमेकी देशले विश्व मानव विकास र कल्याणका लागि गरेका कामहरु देखेर आफू भावुक बनेको बताए।

उनले विकासका लागि सरकारको चेत नै पहिलो शर्त रहेको अनुभव चीन भ्रमणबाट लिएको बताए । कार्यक्रममा बोल्दै योहो टेलिभिजनका समाचार प्रमुख तथा कार्यक्रम सञ्चालक जीवराम भण्डारीले आफूले देखेको कुरा हेर्दा नयाँ अनुभव गर्न पाएको बताए। उनले चिनियाँहरु नेपालीहरुको बारेमा धेरै नै सकारात्मक रहेको र नेपाली समाजलाई धेरै चासोका साथ लिने गरेको पाएको बताए । नेपाल टेलिभिजनका महाप्रवन्धक फूलमान बल तामाङले आधुनीकिकरणको चिनियाँ मोडेलबारे नेपालले पनि धेरै कुरा सिक्न आवश्यक रहेको बताए । उनले चीनको सय वर्षे इतिहास गौरवशाली रहेको बताउँदै शास्त्रीय समाजवादी आर्थिक मोडेल मात्रै अपनाएको भए यो समृद्धि चीनका लागि सम्भव नरहेको बताए ।

कार्यक्रममा बोल्दै अन्तर्राष्ट्रिय च्याम्बर अफ कमर्स, नेपालका अध्यक्ष राजेशकाजी श्रेष्ठले नेपाल र चीनबीचको सम्बन्ध सांस्कृतिक मात्र नभइ सामाजिक, आर्थिक र व्यवसायिक रहेको बताए। उनले विकासको क्षेत्रमा चीनबाट नेपालले धेरै कुरा सिक्न आवश्यक रहेको बताए । उनले चीन सामाजिक, आर्थिक, प्राविधिक क्षेत्रमा उच्च स्थानमा रहेको भन्दै हरेक क्षेत्रमा विकसित रहेको बताए । चीनको विकास मोडेलबाट प्रभावित भएर नेपाल लगायतका विश्वका धेरे देशहरुले विकासको खाका कोरेको बताए । उनले नेपाललाई चीनले विकासका साथै प्राविधिक क्षेत्र, सांस्कृतिक क्षेत्रमा पनि धेरै सहयोग गरिरहेको बताए ।

कार्यक्रममा बोल्दै चीन मामिला विज्ञ हिरण्यलाल श्रेष्ठले चीनबाट नेपालले धेरै कुराहरुमा सहयोग प्राप्त गर्नसक्ने बताए । उनले नेपालका लागि चीनको विकास धेरै नै आवश्यक रहेको बताए । चीनसँग नेपालले सांस्कृतिक, सामाजिक, आर्थिक, प्राविधिक र आधुनिकीकरणमा धेरै सहयोग माग्न सक्ने बताए । चीनको आधुनिकीकरण र विकासले विश्वकै अर्थतन्त्रलाई परिवर्तन गरिदिएको उल्लेख गरे । अग्रज कलाकार मदनदा श्रेष्ठले नेपाल र चीनबीच परापूर्वकालेदेखि नै आपसी सम्बन्ध रहेको र चीनले नेपालको शान्ति, विकास र समुन्नतिका लागि उल्लेखनिय योगदान गरेको बताए ।

कलाकार श्रेष्ठले पुस्तकमा चीनको विभिन्न शहरमा भ्रमण गरी नेपालीहरुले लिएको अनुभवलाई उतारिएको बताए । भ्रमणमा पुगेका १८ जना कलाकार, पत्रकार, राजनीतिज्ञसहितले भ्रमणका क्रममा चीनको विकासलाई नजिकबाट नियाल्ने अनुभवका साथै चीनको समाजलाई बुझ्न् अवसर पाएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?