सप्तरीमा एकै दिन ६ महिलाद्वारा आत्महत्याको प्रयास

लोकपथ
385
Shares

राजविराज । सप्तरीमा आत्महत्याको घटना वृद्धि भइरहेका बेला सोमवार एकै दिन ६ जना महिलाले विष सेवन गरी आत्महत्याको प्रयास गरेका छन् ।

विष सेवनबाट सिकिस्त भएका ६ जनाकै गजेन्द्र नारायण सिंह अस्पतालमा उपचार भइरहेको छ । विष सेवन गर्नेहरुमा राजविराज नगरपालिकाका २, शम्भुनाथ नगरपालिका, कञ्चनरुप नगरपालिका, महादेवा गाउँपालिका र राजगढ गाउँपालिकाका १/१ जना छन् । जसमध्ये एक जनाको अवस्था गम्भीर छ ।

विष सेवन गर्नेहरुमा १८ वर्षदेखि ४८ वर्ष उमेर समूहसम्मका छन् । उनीहरुले घरायसी कारणले विष सेवन गरेको बताएका छन् । जसमध्ये दुई जना अविवाहित र चार जना विवाहित महिला छन् । अस्पतालको आकस्मिक कक्षका अहेव जयकृष्ण गुरमैताका अनुसार दुई जनाले मुसा मार्ने औषधि र बाँकीले खेतीपातीमा किरा मार्न प्रयोग गरिने विषादी सेवन गरेको पाइएको छ ।

जिल्लामा गत आर्थिक वर्ष २०७९/०८० मा झुण्डिएर, विष सेवन गरेर, नदी खोलामा हामफालेर ७९ जनाले आत्महत्या गरेका थिए । चालु आर्थिक वर्ष २०८०/०८१ को हालसम्मको अवधिमा झुण्डिएर ६८ र विष सेवन गरेर २२ गरी ९० जनाले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीको तथ्यांकले देखाएको छ ।

घरायसी विवाद, विवाहेत्तर सम्बन्ध, आर्थिक समस्यादेखि प्रेम सम्बन्ध र असफलतालगायतका कारणले आवेशमा आई आत्महत्याको बाटो रोज्ने गरेको अनुसन्धानको क्रममा खुल्ने गरेको प्रहरीको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?