सेञ्चुरी बैंक घोटाला प्रकरण : थप एक सञ्चालक पक्राउ, पक्राउ पर्नेको सङ्ख्या ९ पुग्यो

लोकपथ
35
Shares

काठमाडौं । प्रहरीले तत्कालीन सेञ्चुरी बैंक घोटाला प्रकरणमा संलग्न थप एक आरोपितलाई पक्राउ गरेको छ । सेञ्चुरी बैंकका तत्कालीन सञ्चालक रही हाल प्रभु बैंकमा समेत सञ्चालक रहेका अभिषेक बज्राचार्यलाई पक्राउ गरिएको हो ।

धरान ४ सुनसरी स्थायी ठेगाना भएका बज्राचार्यलाई धरानबाट पक्राउ गरिएको हो । बज्राचार्यसँगै तत्कालीन सेञ्चुरी बैंक घोटाला प्रकरणमा पक्राउ पर्नेको सङ्ख्या ९ पुगेको छ । यसअघि सिआइबीले तत्कालीन अध्यक्ष राजेश श्रेष्ठसहित ८ जनालाई उपत्यकाबाट पक्राउ गरेको थियो ।

पक्राउ पर्नेहरुमा अध्यक्ष राजेश कुमार श्रेष्ठ, सदस्यहरू सुनिलकुमार न्यौपाने, गीता प्रधान, रमेश कुमार निरौला, रण बहादुर श्रेष्ठ, राजेश कुमार दली, उमा कुमारी श्रेष्ठ, अभिषेक बज्राचार्य र शिव गोपाल रिसाल रहेका छन् । पक्राउ परेकामध्ये शिव गोपाल रिसाल कर्मचारी हुन् भने अन्य सबै सञ्चालक समितिका पदाधिकारी तथा सदस्यहरू हुन् ।


के हो सेञ्चुरी बैंकको कमसल धितो प्रकरण रु
तत्कालीन सेञ्चुरी बैंकका पदाधिकारी तथा कर्मचारी जोडिएको बैंकिङ कसुरको प्रकरण देउराली बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष रविन्द्र चौलागाईसँग जोडिएको विषयमा उनीहरूलाई पक्राउ गरिएको हो ।

निक्षेपकर्ताको निक्षेप तथा बैंकबाट ऋण लिएर अनधिकृत लगानी र रकम अपचलन गरेपछि यसअघि देउराली बचत तथा ऋण सहकारी संस्था लिमिटेड समस्यामा परेको थियो । बचतकर्ताले निक्षेप फिर्ता गर्न बारम्बार दबाब दिएपछि सहकारीका अध्यक्ष रवीन्द्र चौलागाई फरार भएका थिए । पछि प्रहरीले उनलार्य पक्राउ गरी मुद्दा चलाएको थियो । अदालतले चौलागाईलाई पुर्पक्षका लागि थुनामा पठाएपछि उनी यतिबेला नख्खु कारागारमा छन् ।

निक्षेपकर्ताको रकम अपचलन गरेको उजुरी सिआइबीमा परेपछि भएको छानबिनमा चौलागाईले कमसल धितोमा बैंकबाट समेत अधिक ऋण लिएको खुलेको थियो ।

बैंकले रवीन्द्र चौलागाईको कम्पनीहरू पूजा ट्रेडिङ एण्ड मार्केटिङ प्रालि, पूजा मार्केटिङ प्रालि, थ्री ब्रदर्श मार्केटिङ प्रालि, अन्नपूर्ण डिस्टिलरी प्रालि र रवीन्द्र चौलागाईकै नाममा ऋण प्रवाह भएको थियो ।

लोकपथलाई प्राप्त तथ्यांक अनुसार पूजा ट्रेडिङ एण्ड मार्केटिङ प्रालिका लागि बैंकले ८३ करोड ५० लाख ऋण प्रवाह गरेको छ । जबकि हालको मूल्यांकनमा उक्त कम्पनीले भ्यालु ७६ करोड ७३ लाख रुपैयाँ मात्रै रहेको छ ।

त्यसैगरी पूजा ट्रेडिङ एण्ड मार्केटिङलाई नै देखाएर थ्री ब्रदर्श मार्केटिङ प्रालिको नाममा थप ४९ करोड ५० लाख रुपैयाँ ऋण प्रवाह गरिएको छ । ७६ करोड ७३ लाख मूल्यांकन गरिएको सम्पत्ति धितो राखेर बैंकबाट १ अर्ब ३३ करोड रुपैयाँ ऋण प्रवाह गरिएको छ ।

त्यस्तै पूजा मार्केटिङ प्रालिको २८ करोड ७२ लाख रुपैयाँको सम्पत्ति धितो राखेर बैंकबाट ५४ करोड र सोही सम्पत्ति देखाएर रवीन्द्र चौलागाईको नाममा थप ५ करोड गरी कुल ५९ करोड ऋण प्रवाह गरिएको छ ।

त्यसैगरी ७ करोड मूल्यांकन गरिएको सम्पत्ति धितो राखेर चौलागाईले सेञ्चुरी बैंकबाट १९ करोड ६५ लाख रुपैयाँ ऋण लिएका थिए ।

यसरी चौलागाईले कुल १ अर्ब १२ करोड ४५ लाख ९४ हजार रुपैयाँको धितो राखेर सेञ्चुरी बैंकबाट मात्रै २ अर्ब ११ करोड ६५ लाख ऋण लिएका थिए ।

तर ती सबै ऋणहरू व्यापार व्यवसायमा भन्दा पनि घर जग्गा खरिद, प्लटिङ आदिमा खर्च गरी ऋणको अपचलन र दुरुपयोग गरेको पाइएको छ । धितोमा रहेको कुल सम्पत्तिभन्दा ९९ करोड १९ लाख ६० हजार रुपैयाँको बढी ऋण लिइएको र उक्त ऋणको सावाँ तथा ब्याजसमेत नियमितरुपमा भुक्तानी भएको थिएन ।

१३ अर्ब चुक्त पूँजी भएको प्रभु बैंकले १० अर्ब चुक्ता पूँजि भएको सेञ्चुरी बैंकलाई आफूमा गाभ्दा २ अर्ब रुपैयाँ त एकै व्यक्तिले ऋण लिई अपचलन गरेका थिए ।

यसअघि केन्द्रीय अनुसन्धान ब्यूरोले बैंकका तत्कालीन सिइओ मनोज न्यौपाने, पूर्व सिइओ तुल्सीराम गौतम लगायतलाई पक्राउ गरेको थियो । पछि उनीहरूलाई हाजिरी जमानीमा राखेर अनुसन्धान गरिएको थियो ।

प्रहरीले हाल पक्राउ गरिएकाहरूलाई बैंकिङ कसुरमा म्याद लिई अनुसन्धान गर्ने तयारी गरेको छ । हाल पक्राउ परेकाहरूले रवीन्द्र चौलागाईसँग कमिसन लिई कमसल धितोमा बढी ऋण प्रवाह गरी निक्षेपकर्ताको निक्षेप जोखिममा पारेको र ठगी गरेको आरोप छ ।

प्रहरीले पक्राउ गरेका तत्कालीन अध्यक्ष राजेश कुमार श्रेष्ठ लिटिल एञ्जल्स स्कुलका निर्देशक समेत हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?