गृहमन्त्री लामिछानेविरुद्धको मुद्दामा रुपन्देही जिल्ला अदालतबाट मिसिल झिकाउन आदेश

लोकपथ
203
Shares

काठमाडौं । सर्वोच्चका न्यायाधीशद्वय मनोजकुमार शर्मा र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले जिबी राईसमेत प्रतिवादी भई रुपन्देही जिल्ला अदालतमा दायर मुद्दाको मिसिल झिकाउने आदेश भएको हो ।

रुपन्देही जिल्ला अदालतमा जिबी राई समेतका व्यक्तिहरू विरुद्ध सहकारी ठगीमा मुद्दा दायर भएको छ । रिट निवेदकले रुपन्देही जिल्लामा दर्ता भएको सहकारी ठगी प्रकरणमा लामिछाने जोडिएको भएपनि उनलाई जोगाइएको भन्दै त्यस सम्बन्धमा पनि कुरा उठाएपछि अदालतले उक्त मुद्दाको मिसिलसमेत झिकाउने आदेश दिएको हो ।

सहकारी ठगी प्रकरणमा गृहमन्त्री लामिछानेलाई महान्यायाधिवक्ता कार्यालयले कुनै जिल्लामा अभियोग र अनुसन्धान नभएको भनी क्लिनचिटको अर्थ लगाउन मिल्ने पत्र दिएपछि त्यसविरुद्ध अधिवक्ता अनुपम भट्टराईले सर्वोच्चमा रिट दर्ता गराएका थिए । सो रिट सुरुमा सर्वोच्च प्रशासनले दरपिठ गरिदिएको भएपनि भट्टराईले इजलासमा पुगेर दरपिठ बदर गराएका थिए ।न्यायाधीश टेकप्रसाद ढुङ्गानाको इजलासले रिट दर्ता गर्नु भनी आदेश गरेपछि जेठ १४ गते उक्त रिट दर्ता भएको थियो ।

रिटमा गृहमन्त्री लाछिछानेमाथि ठगीको आरोप लागेकाले निलम्बन गर्नुपर्ने, विभिन्न जिल्लामा सहकारी ठगीको अभियोगपत्रमा नाम उल्लेख भएको र कास्की जिल्ला प्रहरी कार्यालयमा जाहेरी नै रहेको अवस्थामा महान्यायाधिवक्ता कार्यालयको दुरुपयोग गरेर क्लिनचिटको पत्र लेखाइएकाले गृहमन्त्री पदमा नैतिक रूपमा बस्न नमिल्ने जिकिर गरिएको छ । रिटमा महान्यायाधिवक्ता दिनमणि पोखरेललाई पनि विपक्षी बनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?