सेञ्चुरी बैंकका तत्कालीन अध्यक्ष राजेश श्रेष्ठसहित ८ जना पक्राउ, यी हुन् पक्राउ परेका व्यक्तिहरु

१ अर्बको धितोमा २ अर्बको ऋण प्रवाह भएको प्रारम्भिक निष्कर्ष

लोकपथ
91
Shares

काठमाडौं । प्रहरीले सेञ्चुरी बैंकका तत्कालीन अध्यक्ष राजेश श्रेष्ठसहित ८ जनालाई पक्राउ गरेको छ ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले बैंकिङ कसुरको मुद्दामा अनुसन्धानका लागि ८ जनालाई पक्राउ गरेको सीआइबीका प्रवक्ता एसपी होबिन्द्र बोगटीले लोकपथलाई बताए ।

हाल प्रभु बैंकसँग मर्ज भएको तत्कालीन सेञ्चुरी बैंकका अध्यक्ष, सिइओ लगायतको मिलेमतोमा कमसल र कम मूल्यको धितो राखी बढी ऋण प्रवाह गरेको कसुरमा उनीहरूलाई पक्राउ गरिएको हो ।

पक्राउ पर्नेमा तत्कालीन सेञ्चुरी बैंकका सञ्चालक समितिका अध्यक्ष, सदस्य र एक कर्मचारी रहेका छन् । पक्राउ पर्नेहरूमा अध्यक्ष राजेश कुमार श्रेष्ठ, सदस्यहरू सुनिलकुमार न्यौपाने, गीता प्रधान, रमेश कुमार निरौला, रण बहादुर श्रेष्ठ, राजेश कुमार दली, उमा कुमारी श्रेष्ठ र शिव गोपाल रिसाल रहेका छन् ।

पक्राउ परेकामध्ये शिवगोपाल रिसाल कर्मचारी हुन् भने अन्य सबै सञ्चालक समितिका पदाधिकारी तथा सदस्यहरू हुन् ।

के हो सेञ्चुरी बैंकको कमसल धितो प्रकरण ?

तत्कालीन सेञ्चुरी बैंकका पदाधिकारी तथा कर्मचारी जोडिएको बैंकिङ कसुरको प्रकरण देउराली बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष रविन्द्र चौलागाईसँग जोडिएको विषयमा उनीहरूलाई पक्राउ गरिएको हो ।

निक्षेपकर्ताको निक्षेप तथा बैंकबाट ऋण लिएर अनधिकृत लगानी र रकम अपचलन गरेपछि यसअघि देउराली बचत तथा ऋण सहकारी संस्था लिमिटेड समस्यामा परेको थियो । बचतकर्ताले निक्षेप फिर्ता गर्न बारम्बार दबाब दिएपछि सहकारीका अध्यक्ष रवीन्द्र चौलागाई फरार भएका थिए । पछि प्रहरीले उनलाई पक्राउ गरी मुद्दा चलाएको थियो । अदालतले चौलागाईलाई पुर्पक्षका लागि थुनामा पठाएपछि उनी यतिबेला नख्खु कारागारमा छन् ।

निक्षेपकर्ताको रकम अपचलन गरेको उजुरी सिआइबीमा परेपछि भएको छानबिनमा चौलागाईले कमसल धितोमा बैंकबाट समेत अधिक ऋण लिएको खुलेको थियो ।

बैंकले रवीन्द्र चौलागाईको कम्पनीहरु पूजा ट्रेडिङ एण्ड मार्केटिङ प्रालि, पूजा मार्केटिङ प्रालि, थ्री ब्रदर्श मार्केटिङ प्रालि, अन्नपूर्ण डिस्टिलरी प्रालि र रवीन्द्र चौलागाईकै नाममा ऋण प्रवाह भएको थियो ।

लोकपथलाई प्राप्त तथ्यांक अनुसार पूजा ट्रेडिङ एण्ड मार्केटिङ प्रालिका लागि बैंकले ८३ करोड ५० लाख ऋण प्रवाह गरेको छ । जबकि हालको मूल्यांकनमा उक्त कम्पनीले भ्यालु ७६ करोड ७३ लाख रुपैयाँ मात्रै रहेको छ ।

त्यसैगरी पूजा ट्रेडिङ एण्ड मार्केटिङलाई नै देखाएर थ्री ब्रदर्श मार्केटिङ प्रालिको नाममा थप ४९ करोड ५० लाख रुपैयाँ ऋण प्रवाह गरिएको छ । ७६ करोड ७३ लाख मूल्यांकन गरिएको सम्पत्ति धितो राखेर बैंकबाट १ अर्ब ३३ करोड रुपैयाँ ऋण प्रवाह गरिएको छ ।

त्यस्तै पूजा मार्केटिङ प्रालिको २८ करोड ७२ लाख रुपैयाँको सम्पत्ति धितो राखेर बैंकबाट ५४ करोड र सोही सम्पत्ति देखाएर रवीन्द्र चौलागाईको नाममा थप ५ करोड गरी कुल ५९ करोड ऋण प्रवाह गरिएको छ ।

त्यसैगरी ७ करोड मूल्यांकन गरिएको सम्पत्ति धितो राखेर चौलागाईले सेञ्चुरी बैंकबाट १९ करोड ६५ लाख रुपैयाँ ऋण लिएका थिए ।

यसरी चौलागाईले कुल १ अर्ब १२ करोड ४५ लाख ९४ हजार रुपैयाँको धितो राखेर सेञ्चुरी बैंकबाट मात्रै २ अर्ब ११ करोड ६५ लाख ऋण लिएका थिए ।

तर ती सबै ऋणहरू व्यापार व्यवसायमा भन्दा पनि घर जग्गा खरिद, प्लटिङ आदिमा खर्च गरी ऋणको अपचलन र दुरुपयोग गरेको पाइएको छ । धितोमा रहेको कुल सम्पत्तिभन्दा ९९ करोड १९ लाख ६० हजार रुपैयाँको बढी ऋण लिइएको र उक्त ऋणको सावाँ तथा ब्याजसमेत नियमितरुपमा भुक्तानी भएको थिएन ।

१३ अर्ब चुक्ता पुँजी भएको प्रभु बैंकले १० अर्ब चुक्ता पूँजि भएको सेञ्चुरी बैंकलाई आफूमा गाभ्दा २ अर्ब रुपैयाँ त एकै व्यक्तिले ऋण लिई अपचलन गरेका थिए ।

यसअघि केन्द्रीय अनुसन्धान ब्यूरोले बैंकका तत्कालीन सिइओ मनोज न्यौपाने, पूर्व सिइओ तुल्सीराम गौतम लगायतलाई पक्राउ गरेको थियो । पछि उनीहरूलाई हाजिरी जमानीमा राखेर अनुसन्धान गरिएको थियो ।

प्रहरीले हाल पक्राउ गरिएकाहरूलाई बैंकिङ कसुरमा म्याद लिई अनुसन्धान गर्ने तयारी गरेको छ । हाल पक्राउ परेकाहरूले रवीन्द्र चौलागाईसँग कमिसन लिई कमसल धितोमा बढी ऋण प्रवाह गरी निक्षेपकर्ताको निक्षेप जोखिममा पारेको र ठगी गरेको आरोप छ ।

प्रहरीले पक्राउ गरेका तत्कालीन अध्यक्ष राजेश कुमार श्रेष्ठ लिटिल एञ्जल्स स्कुलका निर्देशक समेत हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?