स्वास्थ्य कर्मचारी जुनसुकै बेला कारबाहीमा पर्ने मन्त्रीको चेतावनी

लोकपथ
140
Shares

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप यादवले स्वास्थ्य कर्मचारीमाथि अनुगमन र कारबाही अघि बढाउने चेतावनी दिएका छन् ।

सोमबार शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिमा भएको छलफलमा उनले सरकारी अस्पताल व्यवस्थापन समितिले नागरिकलाई ठग्ने र दोष मन्त्रीमाथि दिने गरेको भन्दै सबैलाई कारबाहीको दायरामा ल्याउने चेतावनी दिएका हुन् ।

उनले भने, ‘तपाइँहरुको साथ सहयोग भयो भने केही दिनभित्रमा धेरैजना सस्पेन्ड हुन्छन् । धेरै जना कारबाहीमा पर्छन् । धेरैजनाको मुद्दा म आफैँ अख्तियारमा पठाउँछु । रंगेहात नै समातेर कारबाहीको दायरामा ल्याउँछु । त्यसको लागि मैँले हरेक अस्पतालमा एउटा टिमको गठन गरिरहेको छु । त्यसले अस्पतालमा भइरहेको वेथितिलाई रोक्छ र समात्छ । नागरिकको निशुल्क उपचार होस भनेर काम गर्ने तर अस्पताल व्यवस्थापन समितिले नागरिकलाई ठग्ने प्रवृत्ति बढ्यो । अनि दोष भने मन्त्रीमाथि आउन गरेको छ । यो मान्य हुँदैन ।’

यस्तै, उनले मन्त्रालयमा सुधार गर्ने अठोटको साथ अगाडि बढेको भन्दै त्यसको लागि रातिको समयमा पनि अनुगमनमा जाने बताए । उनले भने, ‘सबैको साथ सहयोग प्राप्त भयो भने स्वास्थ्य मन्त्रालयमा यसपाली पक्कै पनि सुधार हुन्छ । अठोटको साथ काम गरिरहेको छु । हरेक एक एक कुरामा ध्यान दिइरहेको छु । अब दिउँसो होइन मात्र होइना राति पनि अनुगमनका लागि अस्पताल पुग्छु ।’ जनताको सेवाको भाव लिएर जुन अस्पतालहरु खोलिएको थियो त्यो हिसाबले सेवा नभएको पनि उनको भनाइ छ । उनले अस्पतालहरुमा भएको वेथितिलाई रोक्नको लागि समिति गठन गरेर काम भइरहेको भन्दै यसमा मन्त्रालय गम्भीर भएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?