सवारी दुर्घटनामा ८ जनाको मृत्यु

लोकपथ
1.8k
Shares

काठमाडौं । विभिन्न स्थानमा सवारी दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ ।

सिन्धुलीको फिक्कल गाउँपालिका–५ झगडेँबेसीस्थित सडकमा प्रदेश ३–०२–००१ ब ४७९ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा प्रहरी चौकी रत्नावती सिन्धुलीमा कार्यरत मोटरसाइकल चालक धनुषा कमला नगरपालिका–९ घर भएका प्रहरी सहायक निरीक्षक रविन्द्र कुमार ठाकुर र मोटरसाइकलमा सवार तनहुँ भिमाद नगरपालिका–७ घर भएका प्रहरी सहायक हवल्दार सूर्य कुमार श्रेष्ठ रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका रविन्द्र कुमारको सुनकोशी सामुदायिक अस्पताल खुर्कोटमा र सूर्य कुमारको नेपाल प्रहरी अस्पताल महाराजगंज काठमाडौंमा थप उपचारको क्रममा आइतवार दिउँसो मृत्यु भएको हो । सोल्पाडाडाबाट गस्ती गर्दै चौकीतर्फ फर्कने क्रममा उक्त मोटरसाइकल दुर्घटना भएको थियो ।

यसैगरी रूकुम पश्‍चिमको मुसिकोट नगरपालिका–१ निपानेस्थित सडकमा सल्लेदेखि छिनखेततर्फ जाँदै गरेको क.प्र.०२ ००१ च ०४१३ नम्बरको बोलेरो जिप अनियन्त्रित भई सडकबाट अन्दाजी ४ सय मिटर तल खसेर दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा चालक सुर्खेत गुर्भाकोट गाउँपालिका–८ मेहेलकुना बस्ने ३० वर्षीय धर्मेन्द्र श्रेष्ठसमेत ३ जना रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको जिल्ला अस्पताल सल्लेमा उपचारको क्रममा आइतवार राति मृत्यु भएको हो । साथै दुर्घटनामा गम्भीर घाइते भएका अन्य ३ जनाको नर्सिङ होम नेपालगंज बाँकेमा उपचार भइरहेको छ । घाइतेमध्ये २ जनाको अवस्थामा गम्भीर रहेको छ ।

त्यसैगरी धनुषाको सबैला नगरपालिका–९ कलुवामोडमा मे.१ त ९३५५ नम्बरको ट्याक्टरको ठक्करबाट बालकको मृत्यु भएको हो । मृत्यु हुनेमा सोही ठाउँ बस्ने मनोज मण्डलको छोरा ३ वर्षीय डेविड मण्डल रहेका छन् । घर अगाडि खेल्ने क्रममा ट्याक्टरले ठक्कर दिँदा गम्भीर घाइते भएका उनको गोदावरी हस्पिटल जनकपुर हुँदै प्रादेशिक अस्पताल जनकपुरमा थप उपचारको क्रममा आइतवार राति मृत्यु भएको हो । हाल फरार ट्याक्टर चालकको प्रहरीले खोजी गरिरहेको छ ।

यसैगरी झापाको दमक नगरपालिका–३ मावापुलस्थित सडकमा मे.५ प ९७३१ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चालकको मृत्यु भएको हो । सोही नगरपालिका–५ डेरा गरी बस्ने मोरङ मिक्लाजुङ गाउँपालिका–१ घर भएका २२ वर्षीय सगुन राई रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनको आम्दा अस्पताल खरखरे दमकमा उपचारको क्रममा आइतवार राति मृत्यु भएको हो ।

त्यसैगरी ओखलढुङगाको चिशंखुगढी गाउँपालिका–८ माम्खास्थित सडकबाट बाग्मती प्रदेश–०२–०१६ प ८५३२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चालकको मृत्यु भएको हो । सोही गाउँपालिका–४ रातमाटे मझुवा बस्ने ३५ वर्षीय हस्त बहादुर बिकको आइतवार साँझ घटनास्थलमै मृत्यु भएको छ ।

दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?