विपद् उद्धार अभ्यासका क्रममा बझाङमा सशस्त्र प्रहरी जवानको मृत्यु

लोकपथ
2.4k
Shares

बझाङ । प्राकृतिक विपद्का बेला हुने उद्धारको नमूना अभ्यास गर्ने क्रममा बझाङमा एक जना सशस्त्र प्रहरी जवानको डुबेर मृत्यु भएको छ । आज सोमबार बिहान गरिएको नमूना अभ्यासका क्रममा सशस्त्र प्रहरीका जवान २९ वर्षीय नरेन्द्रसिं धामीको सेती नदीमा डुबेर मृत्यु भएको हो ।

सशस्त्र प्रहरी र नेपाली सेनाले संयुक्त रूपमा प्राकृतिक विपद्का बेला बाढीमा फसेका सर्वसाधारणको उद्धारसम्बन्धी नमुना अभ्यास गराइरहेको थियो ।

जयपृथ्वीबहादुर नगरपालिकास्थित सेती नदीमा नेपाली सेनाको वीरभद्रजंग गुल्म नजिकै प्राकृतिक विपद् उद्धारसम्बन्धी नमुना अभ्यास गर्ने क्रममा धामी बेहोस भएका थिए । उपचारका लागि जिल्ला अस्पताल पुर्याइएपनि चिकित्सकले मृत घोषणा गरेको बझाङका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) भरत शाहले बताए ।

सशस्त्र प्रहरीको अनआश्रित गुल्म बझाङमा कार्यरत धामी केदारस्युँ गाउँपालिका–७ का स्थायी वासिन्दा हुन् ।
सशस्त्र प्रहरीका केन्द्रीय प्रवक्ता डीआईजी कुमार न्यौपानेले धामी विपद् व्यवस्थापनमा अनुभवी उद्धारकर्ता भएको तर, अनुभवी व्यक्तिको पनि कसरी ज्यान गएको भन्नेबारे आफूहरु पनि अचम्मित भएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?