विश्वकप खेल्न सन्दीप लामिछाने वेष्टइन्डिजमा, अफ्रिका र बंगलादेशविरुद्धका खेल खेल्ने

ह्याप्पी मोडमा सन्दीपले लेखे, ‘हेलो फ्रम वेस्ट इन्डिज’

लोकपथ
1.4k
Shares

काठमाडौं । अमेरिकाले भिसा नदिँदा नेपाल र नेदरल्यान्ड्सबीचको खेल खेल्न नपाएका क्रिकेटर सन्दिप लामिछाने वेस्टइण्डिजमा हुने खेलहरूमा सहभागी हुने भएका छन् ।

क्रिकेट एशोसिएसन अफ नेपाल (क्यान)का सचिव पारस खड्काका अनुसार वेस्टइण्डिजमा हुने खेलमा लामिछाने राष्ट्रिय क्रिकेट टोलीमा समावेश भएर खेल्ने छन् । लामिछाने वेष्टइन्डिज पुगिसकेका छन् ।

आईसीसीको समन्वयमा लामिछानेले वेष्टइण्डिजमा हुने खेल खेल्न लागेको र उनले प्रतिश जिसीको स्थान लिने क्यानले जनाएको छ । वेष्टइन्डिजमा नेपालले दक्षिण अफ्रिका र बंगलादेशविरुद्धका खेल खेल्ने छ ।

यसअघि नेपालले पहिलो खेल अमेरिकाको डालसमा नेदरल्याण्ड्ससँग खेलेको थियो । सो खेलमा नेपाल पराजित भएको थियो । दोस्रो खेल भने बुधबार बिहान न्यूयोर्कमा श्रीलंकासँग खेल्दैछ । त्यसपछि थप दुई खेलका लागि नेपाल वेष्टइन्डिज जानेछ ।

उता, क्रिकेटर सन्दीप लामिछानेले टी–२० विश्वकपमा सहभागी हुन आफू वेस्ट इन्डिज पुगिसकेको सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी दिएका छन् ।

उनले लेखेका छन्, ‘मलाई अमेरिकाको भिसा प्राप्त गर्न सहयोग गरेकोमा सर्वप्रथम म नेपाल सरकार, परराष्ट्र मन्त्रालय, खेलकुद मन्त्रालय, राष्ट्रिय खेलकुद परिषद्, र नेपाल क्रिकेट संघ (क्यान) लाई धन्यवाद दिन चाहन्छु तर दुर्भाग्यवश त्यो सफल हुन सकेन,’ उनले भनेका छन्, ‘तर ती सबै कुरालाई पन्छाएर, म अब वेस्ट इन्डिजमा अन्तिम दुई खेलका लागि राष्ट्रिय टोलीमा आबद्ध छु र मेरो सपना र सबै क्रिकेट प्रेमीहरूको सपना पूरा गर्न तत्पर छु ।’

उनले थप लेखेका छन्, ‘मेरो सहयात्रालाई सम्भव बनाउनका लागि हाम्रा अध्यक्ष चतुरबहादुर चन्द सर, सचिव तथा मेरो प्यारो पारस खड्का दाइ, मेरो वकिल सरोज घिमिरे दाइ, विनोद दास दाइ र प्रबल दाइ र प्रिय बालकृष्ण दाइलाई हार्दिक धन्यवाद दिन चाहन्छु ।’

चतुरबहादुर चन्द र पारस खड्काको छवि धुमिल बनाउने प्रयासबाट आफू दुःखी भएको पनि उनले बताएका छन् । क्यान र नेपाली क्रिकेटको छवि खराब गर्ने प्रोपोगान्डाको पछि नलाग्न पनि उनले आग्रह गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?