सरकारी निवासमै उपसचिवद्वारा नशालु पदार्थ खुवाएर बलात्कार

लोकपथ
301
Shares

जनकपुरधाम । सरकारी कर्मचारी क्वाटरमा मध्यरात ‘भगवानको प्रसाद’ भन्दै पेडामा नशालु पदार्थ मिसाएर खान दिई बेहोस बनाई महिलालाई बलात्कार गरेको अभियोग लागेका एकजना उपसचिवले अन्ततः प्रहरी समक्ष आत्मसमर्पण गरेका छन् ।

मधेश प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कार्यरत उपसचिव रुपेशकुमार साहमाथि गत माघ १८ गते पीडित महिलाको श्रीमान् नभएको मौका पारेर राति कोठामा गएर नशालु पदार्थ मिसिएको पेडा दिएर बलात्कार गरेको अभियोग छ । घटना भएको दिन पीडित महिलाकी श्रीमान गाउँ गएका थिए ।

माघमै उपसचिव साहले यस्तो कर्तुत गरेपनि पीडित महिलाले गत वैशाख पहिलो साता आफूलाई बेहोस बनाएर बलात्कार गरेको भन्दै प्रहरीमा जाहेरी दिएकी थिइन् । माघ १८ गते राति साढे १० बजेतिर उपसचिव साहले ’भगवानको प्रसाद’ भन्दै पेडामा नशालु पदार्थ मिसाएर खान दिएको र बेहोस भएपछि बलात्कार गरेको पीडित महिलाले प्रहरीमा दिएको जाहेरीमा उल्लेख छ ।

‘त्यो राति मेरो श्रीमान बाहिर जानुभएको थियो, प्रसाद खुवाए र म अचेत भएपछि साहले करणी गरे,’ पीडितले प्रहरीमा दिएको उजुरीमा भनेकी छन्, ’मुख्यमन्त्री कार्यालयमा सँगै काम गरिरहेकाले मेरो श्रीमानको साथीको नाताले रातको समयमा उपसचिव साह टेलिभिजन हेर्न पहिला पनि आउने–जाने गरिरहेका थिए । श्रीमानका साथी र कार्यालयमा सिनियर भएकाले साहलाई सम्मान पनि गर्थेँ ।’

पीडित महिलाले होसमा आएपछि आफ्नो सर्वस्व लुटिइसकेको थाहा पाएको जाहेरीमा उल्लेख छ ।जबरजस्ती करणीबाट बच्चासमेत बसेको पीडित महिलाको दाबी छ । पेटको बच्चालाई फाल्न आफूलाई पटक पटक दबाब दिएर र नफाले ज्यान मार्ने धम्की दिइएको ती महिला बताउँछिन् । ‘एसिड हालेर अनुहार बिगारिदिने र ज्यान मार्नेसम्मको धम्की दिन थालेपछि उसको ज्यादती सहन बाध्य भएँ, जबर्जस्ती करणीले गर्भमा बच्चासमेत बसेको छ, त्यो बच्चा फाल्नुप¥यो भन्दै दबाब दिएपछि श्रीमानलाई सबै जानकारी गराएँ । अनि, न्यायका लागि उजुरी गरेकी हुँ,’ ती महिलाले भनेकी छिन् ।

यस विषयलाई लिएर उपसचिव साह र पीडितका श्रीमानबीच सरकारी निवासमै कुटाकुटसमेत भएको थियो । मधेस भवनमै कयौंपटक झगडा र कुटाकुट भएपछि उपसचिव साह बिदामा बसेको बेला उनीविरूद्ध धनुषा जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो । त्यसयता उनी फरार भएका थिए । अन्ततः केही जोड नचलेपछि शनिबार उनले धनुषा प्रहरीमा आत्मसमर्पण गरेको प्रहरी स्रोतले जनाएको छ । आत्मसमर्पण गरेपछि प्रहरीले अनुसन्धान प्रक्रिया अघि बढाएको छ ।
उनी सिराहाको बरियारपटी गाउँपालिका–४ तेनुवापट्टीका वासिन्दा हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?