पाकिस्तानमाथि भारतको ६ रनको रोमाञ्चक जित, सुपर आठमा पुग्न पाकिस्तानलाई कठिन

लोकपथ
2.2k
Shares

काठमाडौं । आईसीसी टी–२० विश्वकपमा पाकिस्तान भारतसँग ६ रनले पराजित भएको छ । 

आइतबार राती न्युयोर्कमा भएको खेलमा भारतले पाकिस्तानमाथि ६ रनको रोमाञ्चक जित निकालेसँगै पाकिस्तानको अन्तिम आठमा पुग्ने सम्भावना न्यून भएको छ ।

पहिलो खेलमा अमेरिकासँग हार बेहोरेको पाकिस्तानलाई सुपर आठमा पुग्नका लागि अब अन्य खेलका नतिजामा भर पर्नुपर्ने भएको छ । यदी भारतले बाँकी सबै खेल जितेको खण्डमा अमेरिका र आयरल्याण्डको खेलले पाकिस्तानको अन्तिम आठमा पुग्ने सम्भावना जिवितै राख्ने छ। त्यसका लागि आयरल्याण्डसँग अमेरिका पराजित हुनुपर्ने छ ।

न्युयोर्कमा भएको टस जितेर पाकिस्तानले भारतलाई ब्याटिङको निम्तो दिएको थियो ।  एक ओभर बाँकी हुँदै अलआउट हुन पुगेको भारतले पाकिस्तानलाई १२० रनको सामान्य लक्ष्य दिएको थियो ।

सो लक्ष्य पछ्याउने क्रममा पाकिस्तानले ७ विकेटको क्षतिमा ११३ रनमै समेटियो ।  राम्रो सुरुआत गरेको पाकिस्तानले अन्तिम आठ ओभरको खेलमा राम्रो प्रर्दशन गर्न नसक्दा आफ्नो पक्षमा देखिएको खेल गुमाउन पुग्यो।

पाकिस्तानका लागि मोहम्मद रिजवानले सर्वाधिक ३१ रन बनाए । यस्तै, इमाद वासिमले १५ रन, कप्तान बाबर आजम, उस्मान खान र फखर जमानले समान १३ रन बनाए ।

भारतका लागि जस्प्रित बुम्राहले सर्वाधिक ३ लिए । यस्तै, हार्दिक पान्ड्याले २ विकेट, अर्सदीप सिंह र अक्षर पटेलले समान  १ –१ विकेट लिए ।

त्यसअघि भारतले १९ ओभरमा सबै  विकेट गुमाउँदै ११९ रन जोडेको थियो। भारतका लागि रिशभ पन्तले ३१ बलमा ६ चौका सहित सर्वाधिक ४२ रनको पारि खेले ।

यस्तै, अक्षर पटेलले २०, कप्तान रोहित शर्माले १२ बलमा १३ रन बनाउनु बाहेक अन्य ब्याटरले दोहोरो अंक जोड्न सकेनन् ।

पाकिस्तानका लागि नसिम शाह र हरिस रौफले समान ३–३ विकेट लिदा मोहम्मद आमिरले २ र शाहिन शाह अफ्रिदीले १ विकेट लिए ।

जितपछि भारतको २ खेलबाट ४ अंक जोडेको छ । सोही समुहमा रहेको अमेरिकाको पनि ४ अंक छ । क्यानडाको २ खेलमा २ अंक रहेको छ । २ खेल खेलेको पाकिस्तान र १ मात्र खेल खेलेको आयरल्याण्डले अंक जोड्न सकेका छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?