६ वर्षमा आठ सय भन्दा बढी महिला र बालबालिकाको उद्धार

लोकपथ
28
Shares

काठमाडौं । बितेको ६ वर्षमा कञ्चनपुर प्रहरीले त्यहाँको गड्डाचौकीलगायत सीमानाकाबाट आठ सय ८९ महिला तथा बालबालिकाको उद्धार गरेको छ ।

महेन्द्रनगरमा आज आयोजित छुवाछूत तथा भेदभाव, मानव बेचबिखन तथा अपराध नियन्त्रणसम्बन्धी कार्यक्रममा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी उपरीक्षक चक्रराज जोशीले आर्थिक वर्ष २०७५/७६ यता हालसम्म सो सङ्ख्यामा महिला तथा बालबालिकाको उद्धार गरिएको जानकारी दिए । विभिन्न प्रलोभनमा भारतलगायत तेस्रो मुलुक जान लागेका एक सय १८ महिलाको चालु आर्थिक वर्षको हालसम्म सीमानाकाबाट उद्धार गरिएको बताए ।

त्यसैगरी, गत आर्थिक वर्षमा एक सय ७६, आर्थिक वर्ष २०७८/७९ मा दुई सय दुई, आर्थिक वर्ष २०७७/७८ मा ५६, आर्थिक वर्ष २०७६/७७ मा एक सय २७ र आर्थिक वर्ष २०७५/७६ मा दुई सय १० महिला तथा बालबालिकाको उद्धार गरिएको प्रहरी उपरीक्षक जोशीले बताए । “प्रहरीसँगै खुला सीमानाका भएको जिल्लामा विभिन्न दातृ निकाय पनि महिला तथा मानव बेचबिखनमा लामो समयदेखि सक्रिय छन्,” प्रहरी उपरीक्षक जोशीले भने, “सबैको सामूहिक प्रयासले यसको रोकथाम हुनसक्छ ।” मानव बेचबखिन तथा ओसारपसारमा सूचना ढिलो गरी प्राप्त हुनु, अव्यवस्थित बसाइँसराइ र सहरीकरण, चेतनाको कमी, पुनस्र्थापनाको उचित व्यवस्थापनलगायत चुनौती रहेको उनले बताए ।

त्यसैगरी, कञ्चनपुरमा चालु आर्थिक वर्षमा मानव बेचबिखन तथा ओसारपसारका सात मुद्दा दर्ता भएका छन् भने गत आर्थिक वर्षमा ६ वटा मुद्दा दर्ता भएका थिए । सुदूरपश्चिम प्रदेशमा चालु आर्थिक वर्षको हालसम्म मानव बेचबिखन तथा ओसारपसारका एक सय एक मुद्दा दर्ता भएको प्रहरीको तथ्याङ्कले देखाएको छ ।

जातीय छुवाछूत तथा भेदभावका घटना पनि सुदूरपश्चिममा विद्यमान रहेको प्रहरी उपरीक्षक जोशीले बताए । सुदूरपश्चिममा यस वर्ष छुवाछूत तथा भेदभावका ५३ मुद्दा दर्ता भएका थिए । कञ्चनपुरमा सो सम्बन्धि गत आर्थिक वर्षमा दुई मुद्दा दर्ता भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?