कोशी सरकारविरुद्धको रिट ‘हेर्न नमिल्ने’ सूचीमा

लोकपथ
133
Shares

काठमाडौं । कोशी प्रदेश सरकारविरुद्ध दायर भएको रिट हेर्न नमिल्ने सूचीमा परेको छ । आइतबार सुनुवाइका लागि पेसी तोकिएकामा हेर्न नमिल्ने न्यायाधीशको इजलासमा गोला परेपछि आइतबारको पेसी स्थगित भएको छ ।

कोशी प्रदेश सरकारविरुद्धको रिट आइतबार न्यायाधीशत्रय प्रकाशकुमार ढुङ्गाना, अब्दुल अजीज मुसलमान र सुनिल कुमार पोखरेलको पूर्ण इजलासमा सुनुवाइका लागि पेसी तोकिएको थियो । तर उक्त रिटमाथि न्यायाधीश सुनिलकुमार पोखरेलले हेर्न नमिल्ने भएपछि आइतबार स्थगितको सूचीमा परेको हो ।

कानुन व्ययसायी रहेको समयमा न्यायाधीश सुनिलकुमार पोखरेलले हिक्मत कुमार कार्की निवेदक रहेको रिटमाथि सुनुवाइ गरेकाले अहिले कार्की विपक्षी रहेको रिट हेर्न नमिल्ने भएपछि आइतवारको सुनुवाइ स्थगित भएको हो । आफू मुख्यमन्त्री रहँदारहँदै आफूलाई बर्खास्तसम्म नगरी हिक्मत कुमार कार्कीलाई मुख्यमन्त्रीमा नियुक्त गरेको भन्दै कोशी प्रदेशका पूर्व मुख्यमन्त्री केदार कार्कीले उक्त निर्णय बदरको माग गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए ।

यसअघि गत बुधवार सर्वोच्चका न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र बालकृष्ण ढकालको संयुक्त इजलासले कोशी प्रदेश सरकार गठनविरुद्धको रिट पूर्ण इजलासमा पठाउने आदेश गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?