भारत जान लागेका प्रधानमन्त्री दाहाल भेट्न ओली बालुवाटारमा

लोकपथ
105
Shares

काठमाडौं । तेस्रो पटक भारतको प्रधानमन्त्रीको शपथ लिन गइरहेका नरेन्द्र मोदीको शपथ समारोहमा भाग लिन भारत जाँदै गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेट्न एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन् । यो समाचार लेख्दा उनीहरुबीच छलफल जारी छ ।

प्रधानमन्त्री दाहाल आज आइतबार १ बजेर २५ मिनेटमा नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) को उडान नं आरए–२१७ मार्फत भारत जाँदै छन् । यो नेपाल एयरलाइन्सको नियमित उडान हो । भारतको राष्ट्रपति भवनले त्यहाँको स्थानीय समयअनुसार, आइतबार साँझ ७ः१५ बजे शपथ समारोह हुने घोषणा गरेको छ । कार्यक्रममा विदेशी नेतासहित आठ हजारभन्दा बढीको सहभागिता रहने बताइएको छ ।

प्रधानमन्त्री दाहालका साथमा कानुन, न्याय तथा संसदीय व्यवस्थामन्त्री पदम गिरी, परराष्ट्र सचिव सेवा लम्साल, छोरी गंगा दाहाललगायत उच्चपदस्थ सरकारी कर्मचारी जाँदै छन् । मोदीले प्रधानमन्त्रीको शपथ लिएपछि प्रधानमन्त्री दाहालसँग आजै साँझ भेटवार्ता गर्ने कार्यक्रम रहेको नयाँदिल्लीस्थित नेपालको राजदूतावासले जनाएको छ । प्रधानमन्त्री दाहाल भोलि स्वदेश फर्कने कार्यक्रम छ ।

यसअघि सन् २०१४ मा प्रधानमन्त्री मोदीको सपथ ग्रहण समारोहमा तत्कालीन प्रधानमन्त्री सुशील कोइराला सहभागी भएका थिए । त्यसबेला पाकिस्तानबाहेक दक्षिण एसियाली मुलुकका राष्ट्राध्यक्ष एवं सरकार प्रमुख समारोहमा सहभागी भएका थिएनन् ।

यसपटक भने बंगलादेशकी प्रधानमन्त्री शेख हसिना, श्रीलंकाका राष्ट्रपति रनिल विक्रमासिङ्घे, भुटानका प्रधानमन्त्री छिरिङ तोब्गे, सेशेल्सका उपराष्ट्रपति अहमद अफिफ, मौरिससका प्रधानमन्त्री प्रविन्द जुगनाथ र माल्दिभ्सका राष्ट्रपति मोहम्मद मुइज्जु पनि शपथ समारोहमा सहभागी हुने भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?