३६ रनले इंग्ल्याण्डलाई पराजित गर्दै अस्ट्रेलिया समूह बीको शीर्ष स्थानमा

लोकपथ
70
Shares

काठमाडौं । आइसीसी टी–२० विश्वकप क्रिकेटमा अष्ट्रेलियाले लगातार दोस्रो जित निकालेको छ । आइतबार बिहान सकिएको खेलमा अष्ट्रेलियाले इंग्ल्याण्डलाई ३६ रनले पराजित गरेको हो ।

अष्ट्रेलियाले पहिला ब्याटिङ गर्दै निर्धारित २० ओभरमा ७ विकेट गुमाएर २०१ रन बनाएको थियो । जवाफमा इंग्ल्यान्डको टोलीले ५ विकेट गुमाएर १६५ रनमा रोकिन पुग्यो ।

टस हारेर पहिले ब्याटिङ गरेको टोलीका डेभिड वार्नरले ट्राभिस हेडसँग मिलेर अस्ट्रेलियालाई शानदार सुरुवात गराए । उनीहरुले पहिलो ५ ओभरमा ७० रन बनाएका थिए । यो साझेदारी मोइन अलीले तोडेका थिए । अलीले अष्ट्रेलियाका वार्नरलाई ३९ रन बनाएका बेला आउट गरे । वार्नरले १६ बलमा दुई चौका र एक छक्का प्रहार गरेका थिए ।

अर्को ओभरमा हेड पनि आउट भए । हेडले १८ बलमा ३४ रन बनाए । कप्तान मिचेल मार्स र ग्लेन म्याक्सवेलले छिटो रन बनाएर स्कोर १३९ मा पुर्याए । मार्सले २५ बलमा ३५ रन बनाए । उनको इनिङ्समा दुई चौका र दुई छक्का सामेल थिए। म्याक्सवेलले २८ रनको इनिङ खेले ।

अस्ट्रेलियाले १६औं ओभरमा १५० रनको अंक पार गरे पनि १७औं ओभरमा १६८ रनको स्कोरमा टिम डेभिडको विकेट गुमाएको थियो । उनी ११ रन बनाएर आउट भएका थिए । अन्त्यमा मार्कुस स्टोइनिसले १७ बलमा ३० रन र म्याथ्यु वेडले १० बलमा नटआउट १७ रन बनाएर आफ्नो टोलीको स्कोर २०० भन्दा माथि पुर्याएका थिए । इङ्ल्यान्डका लागि क्रिस जोर्डनले सर्वाधिक दुई विकेट लिए ।

लक्ष्य पछ्याउने क्रममा इंग्ल्याण्डले पनि उत्कृष्ट सुरुवात गरेको थियो । फिल साल्ट र कप्तान जोस बटलरले पहिलो विकेटका लागि ७३ रनको साझेदारी गरे । यो साझेदारी आठौं ओभरमा तोडियो । साल्ट २३ बलमा ३७ रन बनाएर एडम जाम्पाबाट बोल्ड भए । बटलर पनि २८ बलमा ४२ रन बनाएर आउट भए । उनको विकेट १० औं ओभरमा ९२ रनमा खसेको थियो । विल ज्याक (१०) र जोनी बेयरस्टो (७) सस्तोमा पभेलियन फर्किए । मोइन अली पनि १५ बलमा २५ रन बनाएर आउट भए ।

लियाम लिभिङस्टोनले १२ बलको सामना गरेर १५ रन बनाएर १९ औं ओभरमा १५२ रनको स्कोरमा आउट भए । ह्यारी बु्रकले १६ बलमा २० रन बनाएर अविजित रहे पनि आफ्नो टोलीलाई जित दिलाउन सकेनन् । अष्ट्रेलियाका लागि एडम जाम्पा र प्याट कमिन्सले २–२ विकेट लिए । जितसँगै अष्ट्रेलिया २ खेलमा ४ अंकसहित समूह बी मा शीर्ष स्थानमा पुगेको छ । योसँगै इंग्ल्याण्ड २ खेलमा १ अंक जोडेर चौथो स्थानमा छ भने २ खेलमा ३ अंक जोडेको स्कटल्यान्ड दोस्रो र नामिबिया २ खेलमा २ अंक जोडेर तेस्रो स्थानमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?