नेदरल्याण्ड्स पराजित, दक्षिण अफ्रिकाको दोस्रो जित

लोकपथ
182
Shares

काठमाडौं । आइसीसी टी–२० विश्वकप क्रिकेटमा दक्षिण अफ्रिकाले लगातार दोस्रो जित निलेको छ । शनिबार राति भएको खेलमा दक्षिण अफ्रिकाले नेदरल्याण्ड्सलाई ४ विकेटले पराजित गरेको हो ।

राम्रो सुरुवात गरेको नेदरल्यान्ड्सले दक्षिण अफ्रिकालाई झन्डै पराजित गरेको थियो । तर, अफ्रिकाको लडखडाएको पारि डेभिड मिलर र ट्रिस्टन स्टब्सले धैर्यतापूर्वक खेले र दक्षिण अफ्रिकालाई जित दिलाए । यो जितसँगै दक्षिण अफ्रिका समूह डीबाट सुपर एटमा पुग्ने लगभग पक्का भएको छ । यो समूहमा नेपाल पनि रहेको छ ।

न्यूयोर्कमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको नेदरल्यान्ड्सले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १०३ रन मात्रै बनाउन सकेको थियो । यो लक्ष्य दक्षिण अफ्रिकाका लागि निकै सजिलो थियो । तर, त्यसो हुन सकेन र पावर प्लेमा नै टोलीले ४ विकेट गुमाएको थियो । यसपछि डेभिड मिलर र ट्रिस्टन स्टब्सले उत्कृष्ट साझेदारी गरे । टोलीले जित्नका लागि १८.५ ओभरको खेल खेल्नुपर्यो ।

यसअघि ब्याटिङमा आएका नेदरल्याण्डका सबै ब्याट्सम्यान फ्लप थिए । सिब्रान्ड एङ्गेलब्रेच बाहेक अन्य ब्याट्सम्यानले ठूलो इनिङ खेल्न सकेनन् । सिब्रान्डले ४५ बलमा ४० रन बनाए । यस बाहेक भान बेकले पनि २२ बलमा २३ रनको योगदान पुर्याए र टोलीले एक सय रन पार गर्न सफल भयो । दक्षिण अफ्रिकाका लागि ओटनियल बार्टम्यानले उत्कृष्ट बलिङ गरे । उनले ४ ओभरको स्पेलमा ११ रन दिएर ४ विकेट लिए ।

लक्ष्य पछ्याउने क्रममा दक्षिण अफ्रिकाको सुरुवात निकै खराब रह्यो । टोलीका दुई उत्कृष्ट ब्याट्सम्यान क्विन्टन डी कक र कप्तान एडेन मार्कराम खाता खोल्नै नखाई आउट भए । ओपनर रिजा हेन्ड्रिक्सले पनि ३ रन मात्र बनाउन सके । हेनरिक क्लासेनले मात्र ४ रन बनाउन सके । तर, यसपछि डेभिड मिलर र ट्रिस्टन स्टब्सले चौथो विकेटका लागि ६५ रनको साझेदारी गर्दै इनिङ्सलाई सम्हाले । स्टब्सले ३३ रनको इनिङ खेले । जबकि डेभिड मिलरले ५१ बलमा ५९ रन बनाएर अविजित रहे । उनी अन्तिमसम्म रहे र टोलीलाई जित दिलाए । नेदरल्याण्ड्सका भिभान किंग्मा र लोगन भान विकले समान दुई दुई विकेट लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?