दलहरुले समय मागेकाले प्रतिनिधिसभा बैठक आज र भोलि नबस्ने

लोकपथ
70
Shares

काठमाडौं । आज र भोलि बस्ने भनिएको प्रतिनिधिसभा बैठक सूचना टाँस गरेर स्थगित गर्ने निर्णय गरिएको छ । सभामुख निवास बालुवाटारमा आइतबार बिहान बसेको मुख्य दलका प्रमुख सचेतकसहितको बैठकले सो निर्णय गरेको हो । अब अर्काे बैठक जेठ २९ गते मंगलबारका लागि बोलाइने भएको छ ।

सभामुख देवराज घिमिरेले बोलाएको बैठकमा उपसभामुख इन्दिरा राना, नेपाली कांग्रेसका सचेतक सुशीला थिङ, एमाले प्रमुख सचेतक महेश बर्तौला, माओवादी केन्द्रका मुख्य सचेतक हितराज पाण्डे, रास्वपा प्रमुख सचेतक सन्तोष परियार र राप्रपा प्रमुख सचेतक ज्ञानबहादुर शाही उपस्थित थिए । बैठकमा मुख्य सचिव डा. बैकुण्ठ अर्याल र संघीय संसदका महासचिव पद्मप्रसाद पाण्डेय पनि सहभागी थिए ।

आजदेखि विनियोजन विधेयकमाथि छलफल गर्ने कार्यसूची थियो । विनियोजन विधेयक, २०८१ अन्तर्गत मन्त्रालयगत छलफलका लागि बजेट पुस्तिका अध्ययनका लागि दलहरूले समय मागेका कारण बैठक रोक्नुपरेको हो । आजको बैठकमा विनियोजन विधेयक, २०८१ को विभिन्न शीर्षकहरूका अलावा विभिन्न ६ वटा विषय छलफलका लागि सम्भावित कार्यसूचीमा राखिएको थियो ।

बैठकमा वन तथा वातावरण मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय र श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको विभिन्न शीर्षकमाथि छलफल हुने सम्भावित कार्यसूची रहेको थियो । बैठकमा प्रेम सुवालले विनियोजन विधेयक, २०८१ अन्तर्गत वन तथा वातावरण मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय शीर्षकको खर्च रकममा उल्लिखित रकम घटाइयोस् भनी खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको थियो ।

त्यस्तै, सांसद अमरेशकुमार सिंहले ‘विनियोजन विधेयक, २०८१ अन्तर्गत वन तथा वातावरण मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय शीर्षकको खर्च रकमलाई घटाइ एक रुपैयाँ गरियोस्’ भनी खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्ने भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?