लुकेर बसेका गन्तब्यहरुलाई प्रचार गर्न डिजिटल माध्यम प्रभावकारी

लोकपथ
14
Shares

काठमाडौं ।  संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले ‘दोस्रो राष्ट्रिय पर्यटन सम्मेलन र फोटोग्राफी प्रतियोगिता २०२४’ ले पर्यटन प्रवद्र्धनको लागि महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा राखेको बताएका छन् ।

शनिबार ‘दोस्रो राष्ट्रिय पर्यटन सम्मेलन र फोटोग्राफी प्रतियोगिता २०२४’ को ग्रान्ड फिनालेमा उनले डिजिटलको माध्यमले लुकेर बसेका प्राकृतिक सौन्दर्यताहरु र सम्भावित गन्तव्यहरुलाई समाजसामु ल्याउन सकिने भन्दै यसले पर्यटनको आगमनलाई पनि सहयोग पुग्ने बताए ।

उनले भने, ‘आज दोस्रो राष्ट्रिय पर्यटन सम्मेलन र फोटोग्राफी प्रतियोगिता २०२४ को जुन ग्रान्ड फाइनल कार्यक्रमको आयोजना भएको छ यो नेपालको पर्यटन प्रवर्द्धनका लागि निकै फलदायी हुने खालको कार्यक्रम हो । यसले पर्यटन प्रवद्र्धनको लागि महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा राखेको छु । किनभने यहाँ हाम्रो लुकेर बसेका प्राकृतिक सौन्दर्यताहरु, लुकेर बसेका सम्भावित गन्तव्यहरुलाई फोटोमार्फत सार्वजनिक गरेको छ ।’

यस्तै, एउटै स्थानमा बसेर सबै ठाँउहरुको बारेमा जानकारी दिनुपनि कार्यक्रमको उद्देश्य रहेको उनको भनाइ छ ।

प्रतियोगितामा चारवटा प्रकृति, संस्कृति, पिपुल, वाइल्ड लाइफ मुख्य विधा रहेको छ । चारवटा विभिन्न विधामा हुन लागेको यस प्रतिष्पर्धामा हरेक विधामा उत्कृष्ट बिजेतालाई ५० हजार नगदसहित प्रमाण पत्र प्रदान गरिने छ ।

छानिएका तस्वीरहरुमध्ये छनौटमा परेको कुनै एक उत्कृष्ट फोटोलाई ‘फोटो अफ द इयर’ घोषणा गरिनेछ ।

कार्यक्रमको पहिलो दिन हिजो पर्यटनका विषयमा प्यानल डिस्कसन भएको थियो भने फोटोग्राफी प्रतियोगिता भएको हो ।

प्यानल डिस्कसनमा पर्यटन र वातावरण क्षेत्रसँग सम्बन्धित विज्ञ व्यक्तित्वसँग पर्यटनका निति, निर्माणका विषय, पर्यटन प्रवद्र्धन तथा सरोकारका विषयसँगै जलवायू परिवर्तनका कारण पर्यटन क्षेत्रलाई पारेको प्रभाव र आगामी दिनमा पार्ने समस्याका बारेमा छलफल भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?