पाटाको अन्तर्राष्ट्रिय उपाध्यक्षमा सुमन पाण्डे निर्वाचित

लोकपथ
133
Shares

काठमाडौं । नेपालका पर्यटन व्यवसायी सुमन पाण्डे प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) को अन्तर्राष्ट्रिय उपाध्यक्षमा निर्वाचित भएका छन् । जुन ७ मा बसेको पाटाको साधारणसभाले पाण्डेलाई अन्तर्राष्ट्रिय उपाध्यक्षमा निर्वाचित भएको घोषणा गर्दै अनुमोदन गरेको हो ।

एक्सप्लोर हिमालय ट्राभल एण्ड एडभेञ्चर प्रालिका अध्यक्ष पाण्डे यसअघि पाटा नेपाल च्याप्टरको अध्यक्ष रहेका थिए । गत मे महिनामा भएको पाटाको अन्तर्राष्ट्रिय सम्मेलनमा पाण्डेले उपाध्यक्षमा आफ्नो मनोनयन दर्ता गराएका थिए । उनीसँगै अमेरिकी नागरिक गुवामका जेराल्ड पेरेजले समेत आफ्नो उम्मेदवारी घोषणा गरेकामा पछि उनले उम्मेदवारी फिर्ता लिएका थिए ।

त्यसपछि जुन ७ मा भएको पाटाको साधारणसभाले पाण्डेलाई निर्विरोधरुपमा उपाध्यक्षमा निर्वाचित भएको घोषणा गर्दै कार्यसमितिमा अनुमोदन गरेको हो । ट्राभल व्यवसायीहरुको अन्तर्राष्ट्रिय संस्था पाटामा नेपाल सन् १९७५ देखि सदस्य रहेको छ । पाण्डे यसअघि सन् २०२० देखि २०२४ सम्म दुई कार्यकाल पाटको अन्तर्राष्ट्रिय सचिव तथा कोषाध्यक्षको भुमिकामा रहेका थिए ।सन् १९५१ मा अमेरिकाको क्यालिफोर्नियामा स्थापना भई सन् १९९८ देखि बैंककमा मुख्यालय रहेको पाटाले एसिया तथा प्रशान्त क्षेत्रका लागि बाटो तथा तथा आपसी पर्यटकीय सम्भावना आदान प्रदान र व्यापार बिस्तारको क्षेत्रमा सदस्य राष्ट्रहरुलाई सहयोग गर्दै आएको छ ।

सन् १९७५ देखि पाटामा सदस्य रहेको नेपालले आफ्ना पर्यटकीय सम्भावनाहरुलाई अन्तर्राष्ट्रिय बजारीकरण तथा स्तरवृद्धिमा पाटाको सहयोग रहेको छ । पाटाकै पहलमा सन् १९७६ मा पोखराको पर्यटकीय गुरुयोजना निर्माण, सन् २०१५ को महाभूकम्प पछिको संकट निवारण तथा पर्यटन पुनरुत्थान कार्यक्रमका साथै ६ पटक भन्दा बढी सााहसिक पर्यटन मेला, र सन् २०१७ मा प्रथम हिमालयन ट्राभल मार्टको आयोजना समेत गरेको थियो ।

आफ्नो ३५ वर्ष लामो व्यवसायिक जीवनमा नेपालको ट्रेकिङ, ट्राभल, हेलिकप्टर, वायुसेवा, होटल, रेष्टुरेन्ट लगायत व्यापक क्षेत्रमा संलग्न विक्रम पाण्डे ट्रेकिङ एजेन्टस एसोसिएसन अफ नेपाल (टान) का अध्यक्ष, नेपाल पर्यटन बोर्डका सदस्य, एअरलाइन्स अपरेटर एशोसिएसन अफ नेपालका महासचिव, नेपाल पर्यटन वर्ष २०११ का कार्यकारी सदस्य समेत रहिसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?