‘ग्रे मार्केट’ फस्टाउँदा मोबाइलका वैध कारोबारी संकटमा

लोकपथ
49
Shares

काठमाडौं । भन्सार छलेर भित्रिने मोबाइल सेटको बढ्दो बजारले वैध कारोबारी संकटमा परेको व्यवसायीहरुले बताएका छन् । नेपाल मोबाइल ब्यवसायी महासंघको शुक्रबार सुरु दोस्रो महाधिवेशन तथा तेस्रो साधारणसभामा व्यवसायीले ‘ग्रे मार्केट’ निरुत्साहित गर्न सरकारको सक्रियता नदेखिएको बताए ।

महासंघ अध्यक्ष भरत भट्टराईले भन्सार छली गरेर भित्रने ग्रे फोनका कारण नेपाली मोबाइलको कारोबारको अवस्था बिग्रिएको तथा त्यसले देशको राजस्वमा समेत असर गरिरहेको बताए । ‘अहिले ग्रे फोनले नेपाली मोबाइल व्यवसायीहरु मारमा छन् । भन्सार छलेर भित्रिने मोबाइलले बजार बिगारेको छ, त्यसले गर्दा देशको राजस्वमा  वार्षिक अर्बौँ रुपैयाँ घाटा भइरहेको छ, ग्रे फोनको बढ्दो कारोबार तत्काल नरोक्ने हो भने अवस्था झन बिग्रने खतरा छ,’ उनले भने ।

मोबाइल सेट नियमनको प्रणाली एमडीएमएसलाई प्रभावकारी बनाएर सरकारले गैरकानुनी कारोबार नियन्त्रण गर्नुपर्ने महासंघको माग रहेको उनले बताए । सरकारले एमडीएमएसको प्रणाली ल्याइसकेको छ तर, सञ्चालन भने प्रभावकारी छैन । उक्त प्रणालीले अवैध सेट नियमन गर्ने भए पनि सरकारले ध्यान नदिएको गुनासो व्यवसायीको छ ।

नेटवर्कको स्तरीकरणसँगै मुलुकमा स्मार्टफोनको प्रयोग ह्वात्तै बढेको छ । प्रयोग बढ्दा बजार पनि विस्तारित भइरहेको छ । मोबाइल सेटकै वैध आयातमा पनि परिमाण बढेको भन्सार विभागको तथ्यांक छ । विभागका अनुसार चालु आर्थिक वर्ष २०८०/८१ को १० महिनामा मात्रै २४ अर्ब १ करोड २४ लाख २२ हजार रुपैयाँ बराबरको १५ लाख २८ हजार ६ सय ६४ थान मोबाइल आयात भएको छ । यसअघि आव ०७९/८० मा २४ अर्ब ३९ करोड ६७ लाख ७८ हजार रुपैयाँ बराबरको १५ लाख ६९ हजार ५९६ थान मोबाइल आयात भएको थियो ।

व्यवसायीलाई सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले आश्वस्त पार्दै नियमनको प्रणाली सक्रिय गराउन सरकार सकारात्मक रहेको बताइन । अवैध कारोबार रोक्न व्यवसायीकै अग्रसरता अपेक्षित रहेको पनि उनले उल्लेख गरिन् । काठमाडौमा जारी महाधिवेशनले आगामी कार्यकालका लागि नेतृत्व चयन गर्दैछ । महाधिवेशनमा ७० जिल्लाबाट करिब एक हजार प्रतिनिधि सहभागी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?