ओलीले दिए बालेनलाई झिंगाको संज्ञा

लोकपथ
588
Shares

चितवन । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहबीच केही दिनदेखि वाकयुद्ध नै चलेको छ । काठमाडौंका न्युरोडमा आफूले गर्न थालेको काममा भाँजो हालेको भन्दै मेयर बालेन शाह पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीसँग चिढिएका छन् । र, ओलीविरुद्ध उनले सामाजिक सञ्जाल फेसबुक मार्फत जेहाद नै छेडिरहेका छन् ।

मेयर बालेनले गिरीबन्धु जग्गा प्रकरणमा दस हजार करोडको बदमासी रहेको र त्यसमा अध्यक्ष ओलीको संलग्नता रहेको भन्ने स्टाटस फेसबुकमा पोस्ट गरेका थिए । उनले गिरीबन्धु जग्गा सट्टापट्टा गरिदिन्छौं भनेर लिएको बैना फिर्ता गर्न पनि भनेका थिए । ‘गिरीबन्धुमा पीडितको बैना फिर्ता गर्नु होला, नत्र कोही साँच्चैको नयाँ आउला र फाइल पल्टाउला । हुन त, पहिले पनि जेल बस्नु भएको हो,’ मेयर बालेनको भनाइ थियो ।

गिरीबन्धुको जग्गा सट्टापट्टामा बालेनले सामाजिक सञ्जाल फेसबुकबाट केही दिनअघि गरेको टिप्पणीमाथि ओलीले शुक्रबार चितवन पुगेर जवाफ दिएका छन् । चितवनको भरतपुर विमानस्थलमा पत्रकारसँगको कुराकानीमा अध्यक्ष ओलीले मेयर बालेनको टिप्पणीलाई ’भैंसीको ढाडमा झिँगाले लात्ती हानेँ भनेर दंग परेजस्तै’ भनेका छन् ।

‘भैंसीको ढाडमा झिँगा बस्यो कि के बस्यो, थाहा पनि पाएको हुँदैन, झिँगा दंग परेको हुन्छ, चार लात हानेँ भनेर ! म कसैसँग अनावश्यक ढंगको विवादमा पर्न चाहन्नँ,’ मेयर बालेनलाई लक्षित गर्दै ओलीले भने । उनले राष्ट्रिय राजनीतिलाई परिपक्व, जिम्मेवार, सभ्य बनाउनुपर्ने बताउँदै भने, ‘राष्ट्रिय राजनीतिलाई सभ्य राजनीतिमा लानुपर्छ, असभ्य राजनीतमा लानु हुँदैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?