अनलाइन टाइपिङ भन्दै बालिकालाई लाइभ सेक्स च्याटमा बस्न लगाएपछि …

१९ वर्षीय युवतीले बालिकालाई दिन्थिन् स्ट्रिप च्याटमा बस्ने तालिम

काठमाडौं । सिन्धुपाल्चोकको मेलम्ची स्थायी ठेगाना भई काठमाडौँको माकलबारीमा परिवारसँग बस्दै थिइन् चाँदनी शर्मा (परिवर्तित नाम) । उनी माकलबारीको बेशीगाउँमा रहेको एक कलेजमा कक्षा ११ मा अध्ययनरत थिइन् । 

चाँदनीको आमा शारीरिकरुपमा अशक्त छिन् भने बुवा सामान्य मजदुरी गर्छन् । परिवारका अन्य सदस्यसँगै चाँदनी पनि माकलबारीमै बस्छिन् । आमा अशक्त भएको तथा परिवारको आर्थिक अवस्था पनि त्यति राम्रो नभएको कारण चाँदनी कामको खोजीमा थिइन् ।

चाँदनीको दैनिकी बिहान कलेज जाने र कलेजबाट फर्केपछि घरमै बसेर पढ्ने मात्रै थियो । करिब डेढ महिनाअगाडि कलेजबाट घर फर्कदैँ गर्दा माकलबारीको सानो पुलमा एक युवकसँग भेट भयो । करिब ४० वर्षका ती युवकले चाँदनीलाई काम गर्ने मन छ भने म सँग अनलाइन टाइपिङको काम छ भन्दै सुनाए । अनि ल्यापटप छ कि छैन समेत भनेर सोधे । 

चाँदनीले ल्यापटप छ भनिन् । ती व्यक्तिले घरमै बसेर गर्ने काम हो, राम्रो कमाई हुन्छ, म तिमीलाई पछि फोन गर्छु भनेर चाँदनीको नम्बर लिएर गए । चाँदनीको नम्बर लिएर गएको व्यक्तिले एकदिन पछाडि नै चाँदनीलाई सम्पर्क ग¥यो र माकलबारीको अल्फा मार्ट नजिकै बोलायो ।

चाँदनी घरमै बसेर काम गर्न पाइने भयो भन्दै ती व्यक्तिलाई भेट्न पुगिन् । अनलाइन टाइपिङको कामका लागि भन्दै चाँदनीले भेट गर्न गएका व्यक्ति थिए क्याल्भिन प्रधान गौतम भन्ने क्याल्भिन गौतम । चाँदनी क्याल्भिनलाई भेट्न जाँदा उनीसँगै थिइन्, सिन्धुपाल्चोकको पाँचपोखरी गाउँपालिका ६ की १९ वर्षीय अञ्जली अधिकारी ।

भेटपछि कामका विषयमा कुरा हुँदा अञ्जली अधिकारीले ‘अनलाइन जब हो, अनलाइनमा पेट्रा कस्मेटिकको सामान अनलाइनमार्फत् बेच्ने हो’ भनेकी थिइन् ।  घरमा ल्यापटप छ र कोही पनि छैन भनेपछि अञ्जलीले तिम्रो कोठामा जाऊँ म काम सिकाउँछु भनिन् । पछि पनि घरमै बसेर काम गर्ने हो भनेपछि चाँदनीले अञ्जली र क्याल्भिनलाई घरमै लिएर गइन् । चाँदनी बस्ने घरमा पुगेपछि अञ्जलीले स्ट्रिप च्याटको एप्लिकेशन डाउनलोड गरी त्यसमा muskan_name को आइडी बनाएर त्यसको पासवर्ड चाँदनीलाई दिइन् । साथै आफूले पनि पासवर्ड लिइन् । अनि ३ दिनपछि आइडी यक्टिभ हुन्छ, त्यसपछि काम सुरु गर्ने हो भनी जानकारी गराइन् । 

स्ट्रिप च्याटमा आइडी बनाएको ३ दिनपछि अञ्जली आँफैले फोन गरेर माकलबारीमै रहेको अञ्जलीको कोठामा चाँदनीलाई बोलाइन् । त्यहाँ पनि क्याल्भिन र अञ्जली सँगै थिए । त्यहाँ पुगेर कामको विषयमा कुरा गर्दा क्याल्भिनले हाम्रो कामको बारेमा बुझाइदेऊ भनी अञ्जलीलाई भन्छन् । त्यसपछि अञ्जलीले स्ट्रिप च्याट खोलेर आइडी लगइन गरी च्याट गर्न सिकाउँछिन् । ल्यापटपमा वेभ क्यामेरा जडान गरेर अनलाइन लाइभ सेक्स च्याटमा बस्न लगाउँछिन् । स्ट्रिप च्याटमा रहेका विभिन्न व्यक्तिहरुसँग कुराकानी गर्ने, अश्लील कुराकानी गर्न लगाउने, अश्लील इशारा गर्न लगाउने, कपडा खोल्ने र यौन अंग देखाउने जस्ता कार्य गर्न लगाइन् । 

चाँदनीले कुराकानी गर्न तयार भएपनि कपडा खोलेर यौन अङ्ग देखाउन इन्कार गर्दा अञ्जलीले त्यसो गर्दा धेरै पैसा आउँछ, त्यहाँ गिफ्ट आउँछ र त्यो गिफ्टबाट पैसा आउँछ भन्दै चाँदनीलाई फकाइन् । चाँदनी अनुहार नदेखाउने सर्तमा सबै गर्न तयार हुन्छिन् । 

उक्त दिन अञ्जलीको कोठामा करिब ३ घण्टा ‘काम’ सिकेपछि चाँदनी घरमा आउँछिन् । अञ्जलीले एउटा वेभ क्यामेरा, केही पारदर्शी कपडा, फ्रक आदि चाँदनीलाई दिएर पठाउँछिन् । अनि चाँदनीले काम गरेको नगरेको सबै आफूहरुले हेर्न मिल्ने भन्दै दैनिक काम गर्न भन्छन् र त्यसवापत मासिक ३० हजार कमाई हुने प्रलोभन दिन्छन् ।

काम सिकेको भोलिपल्टदेखि चाँदनी कलेजबाट फर्केपछि घरको कोठामा एक्लै भएपछि सोही स्ट्रिप च्याट खोलेर आफ्नो आइडी लगइन गरी लाइभ च्याटमा बस्न थालिन् । 

च्याटमा बस्दाको सांकेतिक तस्वीर । (एआई)

काम सुरु गरेको ३ दिनपछि अञ्जली अधिकारीले फोन गरी उनको कोठामा बोलाइन् । अञ्जलीले चाँदनीलाई १३ हजार रुपैयाँ दिँदै तिम्रो काम राम्रो छ, च्याटमा आएका मानिसहरूले भनेको कुरा मानी भने अनुसार तिमीले आफ्नो अङ्ग प्रदर्शन गरेमा धेरै पैसा कमाइन्छ भन्दै उक्त रकम कामबापतको रकम भएको बताइन् । रकम लिएर चाँदनी घर गइन् ।

तर घर पुगेपछि चाँदनीलाई त्यस्तो फोहोरी काम गर्न मन लागेन । अञ्जलीले काम किन नगरेको भन्दै फोन गर्थिन् । चाँदनीले घरमा मान्छे भएर मिलेको छैन भनी दुई दिन ढाँटिन् । पछि पनि बारम्बार फोन आएपछि चाँदनीले काम गर्न मन नलागेको बताइन् । 

चाँदनीले काम गर्न छाडेपछि क्याल्भिन प्रधान गौतम भन्ने क्याल्भिन गौतमले समेत फोन गरी काम किन नगरेको, काम गर्नका लागि भनेर पैसा दिएको हो भन्दै काम गर्न भने । तर चाँदनीलाई उक्त काम गर्न मन लागेन । उनले अञ्जलीबाट लिएको १३ हजार रकममध्ये ९ हजार रुपैयाँ कलेजमा बुझाइन् भने ४ हजार रुपैयाँ आफ्नो खर्चका लागि राखेकी थिइन् ।

चाँदनीसँग स्ट्रिप च्याटमा कुरा गर्नका लागि र उनको यौन अङ्गहरु हेर्नका लागि भारत, बेलायत, जापान आदि देशबाट मानिसहरू हो भन्दै कुरा गर्न आउने गरेको र कपडा खोली यौन अङ्ग देखाउन भन्ने गरेको चाँदनीको बयानमा उल्लेख छ । उनीहरूले नै रिवार्ड पठाएपछि चाँदनीले पाउने हो भनी अञ्जलीले भनेको र १३ हजार रुपैयाँ पनि त्यही कामबाट आएको पैसा भएको चाँदनीले बताएकी छिन् । 

चाँदनीलाई काम गर्न मन नलागेपछि उनले गर्दिन भनिन् । त्यसपछि अञ्जली र क्याल्भिन भएर पहिले दिएको १३ हजार रुपैयाँ फिर्ता मागे । घरमै आएर वेभ क्यामेरा र कपडा लगे भने रकम पनि बारम्बार फिर्ता मागे । त्यसपछि चाँदनीले सबै कुरा आफ्नी आमालाई बताइन् । 

आमाले आफ्नी छोरीमाथि भएको अपराध थाहा पाएलगत्तै उनी काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय (अपराध महाशाखा)मा उजुरी गर्न पुगिन् । उजुरीलगत्तै काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरीले चाँदनीसँग कुरा गरेपछि अञ्जली अधिकारीलाई पक्राउ ग¥यो । अञ्जली पक्राउ परेलगत्तै क्याल्भिन गौतम भने फरार भए । 

त्यसपछि प्रारम्भिक अनुसन्धान गरी दशी प्रमाणसहित अपराध महाशाखाले ७ जना पीडितसँग समेत कुरा गरी उनीहरूको विवरणसहित अञ्जली अधिकारीलाई जिल्ला प्रहरी परिसर काठमाडौँको जिम्मा लगायो । वैशाख ३० गते पक्राउ परेकी अञ्जलीसमेतलाई जिल्ला प्रहरी परिसरको जिम्मा लगाएपछि काठमाडौं प्रहरीले यस विषयमा थप अनुसन्धान ग¥यो । त्यसपछि २२ दिनमा अनुसन्धान सकेर जेठ २२ गते जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंमा रायसहितको प्रतिवेदन पेश ग¥यो ।

प्रहरी प्रतिवेदनमा घटनामा प्रत्यक्ष संलग्नता देखिएका अञ्जली अधिकारी, बागलुङको गलकोट गाउँपालिका ११ स्थायी ठेगाना भई माकलबारी बस्ने धन बहादुर सार्कीको छोरा, क्याल्भिन प्रधान गौतम भन्ने क्याल्भिन गौतम र रुकुमको मुसिकोट नगरपालिका १ स्थायी ठेगाना भई भक्तपुरको सूर्यविनायक २ बस्ने शेर बहादुर थापाको छोरी, अंकिता थापामाथि बालबालिका विरुद्धको कसुरमा मुद्दा दर्ता गर्न प्रतिवेदन दिएपछि जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँका सहायक जिल्ला न्यायाधिवक्ता युवराज शर्माले जेठ २४ गते उनीहरुविरुद्ध काठमाडौं जिल्ला अदालतमा बालबालिका विरुद्धको कसुरमा मुद्दा दर्ता गराएका छन् ।

अञ्जलीले भनिन्, ‘म पनि पीडित नै हो’ 

प्रहरी प्रतिवेदनका आधारमा मुख्य प्रतिवादी बनाइएकी अञ्जली अधिकारीले आफू पनि चाँदनी जस्तै पीडित भएको र आफूलार्य पनि पहिले त्यसरी नै अनलाइन टाइपिङका लागि भन्दै बोलाएर स्ट्रिप च्याटमा काम गर्न लगाएको र पछि आफूले नगरेपछि अरुलाई काम सिकाउन भनिएको बयान दिएकी छन् । अञ्जली अधिकारीले आफ्नो बयानमा यस्तो काममा क्याल्भिन गौतम र भक्तपुर बस्ने अस्मिता थापा मुख्य व्यक्ति भएको बताएकी छिन् । 

आरोपित अञ्जली अधिकारी

अञ्जलीको बयानको केही अंश यस्तो छ :

‘… मलाई यकिन मिति याद भएन २०८० सालको फागुन महिनाको १०।११ गते प्रतिवादी क्याल्भिन प्रधान गौतम भन्ने क्याल्भिन गौतमले मेरो हजुरआमालाई माकलबारी सरस्वती मन्दिरमा भेटी तपाईको कोही काम गर्ने छन् भने बोलाउनु अनलाइन टाईपिङको काम लगाई दिन्छु भनी मेरो हजुर आमालाई भनेपछि मेरो हजुर आमाले मलाई उक्त स्थानमा बोलाई प्रतिवादी क्याल्भिन प्रधान गौतम भन्ने क्याल्भिन गौतम भन्ने मानिससँग कुरा गर्दा पासपोर्ट र नागरिकता लिई आउनु भनेपछि म पासपोर्ट र नागरिकता लिई पुन सोही स्थानमा जाँदा नजिक रहेको खाजा पसलमा प्रतिवादीले मेरो फोटो र राहदानीको फोटो खिची पेट्रा कस्मेटिकको बारेमा अनलाइनमा काम हो । तालिम लिन बालकोटमा अंकिता थापालाई भेटी तालिम लिनु भनी मलाई अंकिताको मोबाईल नम्बर ९७४६४४२XXX नम्बर दिएको र भोलिपल्ट म र मेरो हजुरआमा निज अंकिता भन्नेलाई भेटी कुरा गर्दा निज अंकिता भन्नेले मलाई छुट्टै राखी क्याल्भिन प्रधान गौतम भन्ने क्याल्भिन गौतम भन्ने मानिस एजेन्ट मात्र हो ।

उसको काम केटी खोज्ने मात्र हो । सबै काम मैले हेर्छु भनी मलाई स्ट्रिप च्याटमा मान्छेहरूसँग बोल्नु पर्छ, अनलाइनमा बोल्दा पैसा आउँछ । तिमीलाई म पैसा दिन्छु तिम्रो आइडी २४ घण्टामा भेरिफाई हुन्छ । तिमीलाई ल्यापटप र आइडी पठाई दिन्छु भनी घर पठाएको थिईन् । त्यसको दुई दिनपछि मलाई क्याल्भिन गौतमले फोन गरी माकलबारीमा बोलाई ल्यापटप, वेभ क्यामेरा, चार्जर दिई आइडी र पासवर्डको लागि अंकितालाई भन्नु भनेपछि मैले अंकितालाई ह्वाट्सएपमा कल गरी सोध्दा निजले भने अनुसार अंकिताले दिएको स्ट्रिप च्याटको युजर र पासवर्ड प्रयोग गरी लगइन गरी काम गर्न सुरु गर्नु भनेपछि मैले भोलिपल्ट घरमा बसी काम गर्दा स्ट्रिप च्याट अनलाइनमा आएका मानिसहरूले सेक्सुअल कुरा गर्ने, स्तन देखाउन भनी भन्ने, यौनाङ्गहरु देखाउन भन्न थालेपछि मैले अंकितालाई फोन गरी यसमा नराम्रो कुरा देखाउन, नराम्रो बोल्न लगाउने गर्छन् भन्दा त्यस्तो मान्छेहरूलाई ब्लक गर राम्रो मान्छेसँग बोल भनिन् ।

अनि मलाई उक्त काम राम्रो लागेन र क्याल्भिन गौतमले मलाई दिएको ल्यापटप पठाओबाट अंकितालाई पठाई दिएको हुँ । पछि अंकिताले मलाई तिम्रो आइडी अरू मानिसलाई दिई काम लगाएको छु । पैसा क्याल्भिन प्रधान गौतम भन्ने क्याल्भिन गौतम सरसँग माग, काममा लगाएको कटीलाई पैसा दिनुपर्छ भनी मलाई पटक¬–पटक कल गरी कर गरेपछि मैले क्याल्भिन गौतमलाई ह्वाट्सएपमा कल गरी मेरो आइडी प्रयोग गरी अंकिताले अरू मानिसलाई काम गर्न लगाएको र मलाई पैसा मागी दिनु भनेको छिन् भनी क्याल्भिन गौतमलाई कल गरी रकम माग्दा निजले तिमीले काम नगर्ने भए मलाई भेट्न आऊ भनी बोलाएपछि निज नारायणटारको माकलबारीमा गई भेट्दा निजले तिमीले काम गर राम्रो हुन्छ नराम्रो मानिससँग नबोल भनी तिमीले कहिले काहीँ गर्दा केही हुँदैन ।

तिमीले काम सिक्न आएका केटीहरूलाई तालिम देऊ आफू पनि गर भनेपछि मैले पछि कुरा गरौँला भनी उक्त दिन म घर गएँ । बेला बखतमा निज क्याल्भिन गौतमसँग ह्वाट्सएपमा सो सम्बन्धमा कुराकानी भई रहन्थ्यो । पछि क्याल्भिन गौतमले फोन गरी बोलाएकोले निजसँगै गई निजले भेटाएको केटीहरूलाई स्ट्रिप च्याटको बारेमा सिकाउन थालेको हुँ । सोही क्रममा प्रतिवादीले पीडित चाँदनी (२६ परिसर ६३(क)) सँग समेत भेट गराएको हो । निज केल्भिन प्रधानसँग पीडितको कोठामा गई स्ट्रिप च्याटको बारेमा सिकाएको हुँ ।’

प्रहरीले १९ वर्षीय अञ्जली अधिकारीलाई तत्कालै पक्राउ गरेको भएपनि अन्य प्रतिवादीहरू क्याल्भिन गौतम र अंकिता थापा भने फरार छन् । क्याल्भिन कहाँ छन् भन्ने थाहा नभएपनि अंकिता थापा भने कक्षा १२ को परीक्षा दिएर एक महिना पहिले नै फुपूलाई भेट्न भारतको हिमाञ्चल गएको खुलेको छ । 

३ वर्ष कैद र ७५ हजार क्षतिपूर्तिको मागदाबी

प्रहरी प्रतिवेदनको आधारमा सरकारी वकिलले बालिकालाई अनलाइन सेक्स च्याटमा बाध्य पारी बस्न लगाएको भन्दै प्रतिवादीहरू अञ्जली अधिकारी, क्याल्भिन प्रधान गौतम भन्ने क्याल्भिन गौतम र अंकिता थापालाई बालबालिका सम्बन्धी ऐन, २०७५ को दफा ६६ अनुसार कसुर गरेको भन्दै सोही ऐनको दफा ७२ को उपदफा ३ख अनुसार सजाय र पीडितलाई क्षतिपूर्तिको मागदाबी लिई काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको छ । बालबालिका सम्बन्धी ऐन, २०७५ को दफा ६६ मा बालबालिका विरुद्धको कसुरबारे उल्लेख गरिएको छ ।  उक्त दफाको उपदफा ३ मा ‘कसैले बालबालिका उपर देहाय बमोजिमको कुनै कार्य गरेमा बाल यौन दुर्व्यवहार गरेको मानिनेछ’ भनी उल्लेख छ । 

जसमा,

(क) अश्लील चित्र, श्रव्य दृश्य वा यस्तै किसिमका अन्य सामाग्री देखाउने वा देखाउन लगाउने वा अश्लील तथा यौनजन्य आचरण वा व्यवहार झल्कने अभिव्यक्ति वा हाउभाउ प्रदर्शन गर्ने वा गराउने,

(च) कामवासना वा यौन उत्तेजना उत्पन्न गर्न बालबालिकालाई प्रयोग गर्ने वा गराउने ।

सोही ऐनको दफा ७२ को उपदफा ३को खण्ड ख मा यस्तो कार्य गराएका पचहत्तर हजार रुपैयाँसम्म जरिवाना र तीन वर्षसम्म कैद सजायको व्यवस्था गरिएको छ । 

साथै सोही ऐनको दफा ७३ अनुसार कसुरदारलाई भएको जरिवानाभन्दा कम नहुने गरी पीडितको शिक्षा, शारीरिक तथा मानसिक स्वास्थ्य, विकास र परिवारमा पुगेको हानि समेतलाई मध्यनजर गरी एकमुष्ट क्षतिपूर्तिको व्यवस्था गर्नुपर्ने उल्लेख छ । सोही अनुसार क्षतिपूर्तिको समेत मागदाबी लिइएको छ । 

प्रहरीले अञ्जलीलाई पक्राउ गर्दा अञ्जलीको कोठाबाट भिभो कम्पनीको मोबाइल, डेल कम्पनीको क्रोमबुक, राउटर, वेभ क्यामेरा, पारदर्शी कपडाहरू आदिसमेत बरामद गरी अदालतमा पेस गरेको छ । 

कानुन अभावमा अन्य पीडितले दिएनन् जाहेरी

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले अञ्जलीलाई पक्राउ गर्दा अन्य ६ जना किशोरीहरू पनि पीडित रहेको भन्दै उनीहरूको विवरण र बयानसमेत जिल्ला प्रहरी परिसरमा पठाएको थियो । तर उनीहरूको उमेर १८ वर्ष पुगिसकेको र बालबालिकाविरुद्धको कसुर आकर्षित नहुने भएपछि उनीहरूले जाहेरी दिन सकेनन् । आपराधिक लाभमा मुद्दा चलाउन सकिने भएपनि अन्यको हकमा अहिले अहिले प्रहरीले कुनै मुद्दा चलाएको छैन । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?