गृहमन्त्री लामिछानेमाथि खनिए कैलाश सिरोहियाका छोरा सम्भव

भने– सहकारी ठगीको समाचार लुकाइदिन लामिछानेले धेरै पटक आग्रह गरेका थिए

लोकपथ
686
Shares

काठमाडौं । कान्तिपुर मिडिया ग्रुपका प्रबन्ध निर्देशक सम्भव सिरोहियाले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सहकारीको बचत अपचलनबारे समाचार नलेख्न आग्रह गरेको बताएका छन् । गृहमन्त्रीको आग्रह आफूहरुले नमानेपछि कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई नागरिकताको विषयलाई लिएर पक्राउ गरेको उनले बताएका छन् । कैलाश र सम्भव बाबु छोरा हुन् ।

उनले भिडियो मार्फत् भनेका छन्, ‘यसपालि रास्वपाका रवि लामिछानेज्यू जो गृहमन्त्री छन्, उहाँको सहकारीको ठगी जनताको माझमा ल्याउने क्रममा उहाँले धेरै अनुरोध गर्नुभयो, यो समाचार लुकाइदिनको लागि मिलाइदिनका लागि । उहाँले पहिला आफूले गरेको पत्रकारिताजस्तो सोच्नुभयो । सेटिङ गरेर समाचार बन्छ वा लुक्छ जस्तो सोच्नुभयो । उहाँलाई कति अनुरोध गरियो । व्यवस्थापनले समाचार लेख्दैन । सम्पादकीय स्वतन्त्रता छ । उहाँले त्यो बुझ्न भएन । गृहमन्त्रीको अनुरोधमा कान्तिपुरले सेटिङ नगरेको भएर उहाँ फेरि तल्लो स्तरमा ओर्लनु भयो । उहाँले आफ्नो शक्ति दुरूपयोग गर्दै झूटो केस लगाएर कान्तिपुरका अध्यक्ष मेरो बुवा कैलाश सिरोहियालाई पक्राउ गर्नुभयो ।’

भिडियोमा उनले आफ्नो बाबु कैलाशले वंशजको नागरिकता पाउनाको कारण पनि खुलाएका छन् । उनले आफ्नो हजुरबुबाको नौ भाइ छोरामध्ये कैलाश कान्छो छोरा रहेको र बुबाका दाजुहरूले नागरिकता पाउँदा हजुरबुबाले नागरिकता नै नपाएको र पछि हजुरबुबाले नागरिकता लिएपछि बुबा कैलाशले बंशजको आधारमा नागरिकता प्राप्त गरेको बताएका छन् ।
‘आज गृहमन्त्री लामिछानेले लगाउनु भएको झूटो आरोपको सत्य बताउन चाहन्छु, कैलाश सिरोहिया, हामीजस्तै नेपालमा जन्मिएको, हुर्किएको नेपाली नागरिक हो ।

उहाँ जन्मँदा उहाँको बुबा नेपाली नागरिक भएको भएर उमेर पुगेपछि हामीजस्तै उहाँले प्रमुख जिल्ला अधिकारीको कार्यालय गएर नागरिकता प्राप्त गर्नुभएको हो । भ्रमचाहिँ के फैलाइयो भने कैलाश सिरोहियाका दाइहरूले अर्कै क्याटेगोरी (किसिम) को नागरिकता पाएका छन्, उहाँले अर्कै क्याटेगोरीको पाउनुभयो । गृह मन्त्रालयको नियम गृहमन्त्री आफैंले बुझ्नुपर्ने हो । दाइहरू जन्मँदा हजुरबुवाले नागरिकता प्राप्त गनुभएको थिएन । नौ जनामध्येका कान्छा छोरा कैलाश जन्मँदा हजुरबुबाले नेपाली नागरिता प्राप्त गरिसक्नुभएको थियो । यति सामान्य कुरालाई के के न जस्तो हल्ला गरियो,’ सम्भवले भनेका छन् ।

नागरिकता प्रकरणमा कैलाश सिरोहियालाई जेठ ८ गते साँझ कान्तिपुर मिडिया गु्रपको थापाथलीस्थित कार्यालयबाटै पक्राउ गरिएको थियो । उनको पक्राउको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा कडा रुपमा विरोध गरिएको थियो । उनलाई जिल्ला सरकारी वकिलको कार्यालयबाट अनुमति लिएर धनुषा प्रहरीले जेठ १६ गते हाजिर जमानीमा छाडेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?