संघीयता कमजोर बनाउन खोज्ने तत्व सक्रिय छ : प्रधानमन्त्री

लोकपथ
14
Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले जनतालाई राम्रो डेलिभरि दिएपछिमात्र सङ्घीयता बलियो हुने बताउँदै त्यसका लागि सबैले सकारात्मक पहल गर्नुपर्ने बताएका छन् ।

आज शुक्रबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा अन्तरप्रदेश व्यवस्थापिका मञ्चका पदाधिकारीहरूसँग छलफल गर्दै प्रधानमन्त्रीले सरकारले मञ्चका निष्कर्षहरूलाई गम्भीरतापूर्वक लिएर अधिकतम सम्बोधन गर्ने आश्वासन दिए ।

प्रधानमन्त्री दाहालले भने, ‘अन्तरप्रदेश व्यवस्थापिका मञ्च बनाएर संसदलाई प्रभावकारी बनाउन जुन भूमिका खेल्नुभएको छ, यो महत्वपूर्ण छ । आवधिक रूपमा यस्ता छलफलहरू जरूरी छ । सरकारले मञ्चका निष्कर्षहरूलाई गम्भीरतापूर्वक लिनेछ । अधिकतम सम्बोधनको प्रयास गर्नेछ ।’

छलफलका क्रममा प्रधानमन्त्रीले सङ्घीय लोकतान्त्रिक गणतन्त्रका पक्षधर र विरोधीबीच बहस भइरहेको बताउँदै जनतालाई राम्रो डेलिभरि दिनुपर्ने बताए । उनले भने, हामी सङ्घीय लोकतान्त्रिक गणतन्त्र बलियो बनाउने, संविधानको प्रभावकारी कार्यान्वयन गर्ने पक्षका हौं । यहाँ सङ्घीयताका विरोधीहरू प्रदेशमाथि आक्रमण गरेर व्यवस्थामाथि अनास्था फैलाउने कोशिसमा छन् । त्यस्तो प्रवृत्तिलाई हामीले निरूत्साहित गर्नुपर्छ । जनतालाई राम्रो डेलिभरि दिएर प्रदेश र स्थानीय सरकारलाई बलियो बनाउनुपर्छ ।’

प्रधानमन्त्री दाहालले सङ्घीय निजामती ऐन र प्रहरी समायोजनको काम छिटो निष्कर्षमा पु¥याउन आफूले पहल गरिरहेको पनि बताए । उनले भने,‘सङ्घीय निजामती सेवा ऐन संसदबाट छिटो पारित गराउन र प्रहरी समायोजनको काम टुंग्याउन मैले पहल गरिरहेको छु । यो निष्कर्षमा पुगेपछि प्रदेश र स्थानीय तह बलियो हुन्छ । सङ्घीयतामाथि प्रश्न उठाउनेहरू कमजोर हुन्छन् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?