एनडीए गठबन्धनबाट मोदी नै प्रधानमन्त्रीमा अनुमोदन

लोकपथ
715
Shares

काठमाडौं । भारतको सत्तारुढ गठबन्धन एनडीएले तेस्रो कार्यकालका लागि पनि नरेन्द्र मोदीलाई नै प्रधानमन्त्री बनाउने प्रस्ताव अनुमोदन गरेको छ । सन् २०१४ देखि लगातार प्रधानमन्त्री रहेका मोदीले चुनावको नतिजा सार्वजनिक भएपछि बुधवार दिउँसो पदबाट राजिनामा दिएका थिए ।

जुन ८ मा नयाँ प्रधानमन्त्रीको सपथको तालिका सार्वजनिक भइसकेकाले प्रधानमन्त्री निवासमा बुधवार साँझ भएको एनडीए गठबन्धन बैठकले मोदीलाई नै प्रधानमन्त्री बनाउने निर्णय गरेको हो । बैठकमा नरेन्द्र मोदी, गृहमन्त्री अमित शाह, टीडीपी प्रमुख चन्द्रबाबु नायडू, बिहारका मुख्यमन्त्री नितिश कुमार र जेडीयु नेता लालन सिंह र सञ्जय झा उपस्थित थिए ।

बैठकमा बिहारका मुख्यमन्त्री नितिश कुमारले सरकार गठन प्रक्रियालाई चाँडो अघि बढाउन आग्रह गरेका थिए । लोकसभाको निर्वाचनमा एनडीए गठबन्धनले २९२ सिट जितेको छ । भारतको लोकसभा ५४३ सदस्यीय रहेको छ । बहुमतका लागि २७२ सिट आवश्यक पर्छ ।

यो चुनावमा मोदीको दल भारतीय जनता पार्टी भाजपाले भने २४० सिटमात्रै जितेको छ । अघिल्लो पटक ३०३ सिट जित्दै सरकार बनाएको भाजपाले यस पटक भने गठबन्धन गरेर चुनावमा गएको थियो । चुनावी नतिजाले भाजपाको लोकप्रियता भने घटेको पुष्टि गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?