अझै गठन आदेशका भरमा नीति अनुसन्धान प्रतिष्ठान

लोकपथ
14
Shares

काठमाडौं । नीति अनुसन्धान प्रतिष्ठानका कार्यकारी अध्यक्ष प्रा.डा.लेखनाथ शर्माले प्रतिष्ठान अझै पनि ऐनबाट चल्न नसकेको गुनासो गरेका छन् ।

संसदको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिमा सार्वजनिक नीतिको आवश्यकता, महत्व, कार्यान्वयन अवस्थालगायत विषयहरुका सम्बन्धमा बुधबार भएको छलफलमा उनले गठन आदेशको भरमा मात्रै यो संस्था चलिरहेको भन्दै प्रतिष्ठानलाई ऐनबाट व्यवस्थित गर्नको लागि समितिले विशेष भूमिका खेल्न आशा राखेको बताए ।

उनले भने, ‘यो प्रतिष्ठान अहिलेसम्म ऐनबाट संगठित छैन । गठन आदेशको भरमा मात्रै यो संस्था चलिरहेको छ । त्यसले यसको स्थायित्व र सबै हिसाबले कार्य अगाडि बढाउनको लागि त्यो ऐनको व्यवस्था एकदम जरुरी छ । यसको निरन्तरता, क्षमता सबै हिसाबको लागि ऐन आवश्यक छ । यो प्रतिष्ठानलाई ऐनबाट व्यवस्थित गर्नको लागि तपाईंहरुले विशेष भूमिका खेल्नु हुन्छ भन्ने आशा पनि राखेको छु ।’

प्रतिष्ठानले बलियो र प्रभावकारी नीति बनाउन महत्वपूर्ण भूमिका खेल्ने पनि उनले बताए । उनले भने, ‘नीतिमा विज्ञान, प्रविधि, जनता, सरकार, राष्ट्र अन्तर्राष्ट्रिय यी कुराहरुको संयोजन गरेर एउटा बलियो, प्रभावकारी नीति बनाउनमा यस्तो संस्थाको भूमिका हुन्छ । नीति बनाउने कुरालाई बढावा दिन्छ ।’

उनले जनताको माग अनुसार नै नीति निमार्ण गर्ने हो भने त्यसको दुरगामी असर धान्नै नसक्ने हुन सक्छ भन्दै यसमा ध्यान दिन आवश्यक रहेको पनि बताए । उनले भने, ‘तत्काल जनताले के कुराको माग गरेको छ त्यसको सम्बोधन हुनुपर्छ भन्ने हिसाबमा नीति हुन्छ र त्यसलाई सम्बोधन गर्ने नीति बनेर कार्यक्रमहरु ल्याइयो भने त्यसको दुर्गामी असर धान्नै नसक्ने हुन सक्छ । त्यसकारण यसमा ध्यान दिन आवश्यक हुन्छ ।’

आन्तरिक र बाहिए विषयहरुलाई मिलाएर नीति बनाउन सकेनौँ भने नीति त्यती सफल नहुने भन्दै संसारभरकै परिस्थितीको अनुसन्धान पनि आवश्यक भएको पनि उनको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?