सुमना श्रेष्ठ लक्षित ओली टिप्पणीको रास्वपा सांसदले संसदमै गरे प्रतिवाद

सुमना श्रेष्ठले पनि फेसबुकमार्फत् जनाइन् असन्तुष्टि

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीसमेत रहेकी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सुमना श्रेष्ठले सत्तारूढ नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीको आफूलक्षित गरेको टिप्पणीप्रति बुधबार आफ्नो सचिवालयको फेसबुकमार्फत् प्रतिक्रिया दिएकी छन् ।

बुधबार नै रास्वपा सांसद शिशिर खनालले पनि अध्यक्ष ओलीको श्रेष्ठ लक्षित अभिव्यक्तिलाई लिएर प्रतिनिधि सभा बैठकमा प्रतिवाद गरेका छन् । ओलीको अभिव्यक्ति र रास्वपा सांसद/मन्त्रीको प्रतिवादले कतै एमाले र रास्वपाको सम्बन्ध चिसिएको हो ? पछिल्ला दिनमा यी प्रश्न पनि उठ्न थालेका छन् ।

मन्त्री श्रेष्ठले त ओली अभिव्यक्तिसँग महिलालाई हेर्ने मानसिकताको रुपमा तुलना गरेकी छन् । ओलीले विदेशबाट नेपाल घुम्न आएको बेला मन्त्री बनेको भनेर उनीमाथि व्यंग्य गरेका थिए । जवाफमा उनले यहाँका राजनीतिक अगुवा भनिएकाहरूले नै नेपाल आएपछि राजनीतितिर नहेरून्, उनीहरूको शक्ति र वर्षौंदेखि जमाएर गरिरहेको राजनीतिक पेसामा प्रतिस्पर्धा नबढाऊन्, उनीहरूको होमा हो भन्ने कार्यकर्ता बनून् भन्ने अभिष्ट राख्ने गरेको बताएकी छन् ।

‘यो तँ बसेर आएको देश हो र नेपाल पो हो ! भनेर हरेक कुरामा सम्झौता गरोस् भन्ने अपेक्षा हुदोरहेछ । कर्मचारीतन्त्र र यहाँका पेशाकर्मीहरू पनि विदेशमा पढेकाहरूलाई प्रतिस्पर्धी मात्र देख्दा रहेछन्, अहिले पौडिरहेको सानो पोखरीमा आफ्नो कब्जा रहिरहोस् भन्ने ध्येय हुने रहेछ, उनीहरूको सीप र लगनले पोखरी नै ठूलो हुन सक्ने देख्दैनन्,’ उनले भनेकी छन्, ‘महिलालाई हेर्ने मानसिकता विकराल छ र झनै बढी प्रहार हुने रहेछ । समाजको नियम भनेर के लगाउने, के बोल्ने हरेक कुरामा लक्ष्मण रेखा कोरिदिने र त्यहीभित्र बसोस् भन्ने सोच हुनेरहेछ, यही भएर होला प्रायः हाम्रा बहिनी छोरी विदेशबाट फर्कन खोज्दैनन् ।’
मन्त्री श्रेष्ठले विवाह भए पछि जन्मेको घरप्रति कुनै जिम्मेवारी हुँदैन भनेर प्रश्न पनि गरेकी छन् । त्यस्तै श्रीमानको पहिचान बाहिर नारीको आफ्नो स्वतन्त्र पहिचान हुँदैन भन्दै प्रतिप्रश्न गरेकी छन् ।

‘के विदेशसँग कुनै सम्बन्ध हुँदैमा मान्छे देशद्रोही भइ हाल्छ ? अहिलेसम्म पुस्तौदेखि नेपालमै बसेका, नेपालीसँगै विवाह गरेकाहरूले चलाएको देश हो यो, यही कारणले मात्र उत्पात विकास हुने रहेछ त ? हामीले लडेर ल्याइदिएको अधिकारको मज्जा लिइरहेको छौं भनेर नथाक्नेहरू नै त्यसको उपयोग गर्दा भने भड्किन पुग्छन्,’ उनले भनेकी छिन् ।

यसको पछिल्लो उदाहरण समाजका अगुवाको अभिव्यक्ति रहेको पनि उनले बताएकी छन् । ‘देख्दा त्यो केवल एकजना सुमना श्रेष्ठको लागि हो भन्ने देखिएला तर त्यसले मजस्तै जो सानै उमेरमा राम्रो अध्ययनको अवसर लिन बाहिरिन्छ, जो कमाउन बाहिरिन्छ, ती सबै प्रति लक्षित हो । यसैले म आग्रह गर्छु, त्यस्तो सोच जोसुकैबाट आओस्, त्यसका विरूद्धमा रहन आवश्यक छ । भन्नै पर्छ कि, यो हाम्रो समय हो, जुन जस्तो अवस्था भए पनि हरेक नागरिकको सम्मानको समय हो,’ उनले भनेकी छन् ।

समाजका अगुवा भनिएकाहरूका यस प्रकारका अभिव्यक्तिको प्रतिवाद गरे नेपाल जान्छु र केही गर्छु भन्नेहरूलाई निरूत्साहित हुनबाट जोगाउने उनको भनाइ छ । ‘देश कुनै अमूक नेताहरूको कैदमा मात्रै छ र उनीहरूको मर्जीबिना देशमा पात पनि हल्लिदैन भन्ने धारणा फेरिन सक्छ । साँच्चै नै ब्रेन गेन हुन पुग्छ,’ उनले भने ।

उता, रास्वपा सांसद खनालले बुधबारको संसद बैठकमा ओली अभिव्यक्तिमाथि प्रश्न खडा गरेका छन् । उनले महिला र वर्गीय उन्मुक्तिको राजनीति केका लागि थियो भनेर सत्तारूढ नेकपा (एमाले) का अध्यक्ष ओलीलाई लक्षित गर्दै प्रश्न सोधका छन् । प्रतिनिधि सभाको शून्य समयमा बोल्दै सांसद खनालले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री श्रेष्ठलाई समानुपातिक सांसद र विदेशीसँग बिहे गरेको भनेर होच्याइने प्रवृत्ति रहेको पनि बताएका थिए । ‘कुनै एउटा यस्तो युग थियो जहाँ, काठमाडौंकी राजकुमारी तिब्बतका राजासँग विवाह गरिन्, जनकपुरकी राजकुमारी अयोध्याका राजासँग विवाह गरे र दुवै पुज्य भए । आज यस्तो जमाना आयो, विदेशमा उच्च शिक्षा हासिल गरेकी एउटा महिला नेतृ दस वर्षअघि देश फर्किइन् । भूकम्पको बेला औषधी लिएर गाउँ पुगिन् । नाकाबन्दीको बेला कारपुल भनेर सडकमा हिँडिरहेका मानिसलाई यात्राको सुविधा प्रदान गरिन् । उद्यममार्फत् रोजगारी सिर्जना गरिन्। राजनीतिमा आइन् र मन्त्री बनिन् । उनलाई भर्खर घुम्दाघुम्दै आएर मन्त्री बनिन् भनिन्छ,’ अध्यक्ष ओलीले दिएका अभिव्यक्तिप्रति लक्षित गर्दै सांसद खनालले भने, ‘कहिले लुगामा टिप्पणी गरिन्छ, कहिले समानुपातिक सांसद भनेर होच्याउने काम गरिन्छ । कहिले यही सभा हलमा, कहिले बन्द कोठाभित्र !’

उनले लामो समयदेखि नेपालको राजनीतिमा महिलाको उन्मुक्ति र वर्गीय उन्मुक्ति हामीले केका लागि गरेको भनेर ओलीलाई लक्षित गर्दै प्रश्न गरेका थिए । ‘के सबै महिला, पुरुष बराबर हो भनेर होइन र ?,’ उनको भनाइ थियो ।

अध्यक्ष ओलीले केही दिनअघि आफ्नो पार्टीको संसदीय दलको बैठकमा शिक्षा मन्त्रीसमेत रहेकी रास्वपा सांसद श्रेष्ठलाई लक्षित गरेर पानी पर्दा कहिले कहिले माछा बर्सिएझैं शिक्षा मन्त्री बनेको भनेर टिप्पणी गरेका थिए ।

उनले ‘एउटा कथा’ भन्दै भनेका थिए ‘एउटी चेली कुन देशमा कता गएर पढिन्, कुन देशमा गएर बिहे गरिन् । के भयो, अनि ती आफ्नो माइती देशमा एकपल्ट गइन् अरे । माइती देशमा गएको त्यहाँ त असन्तुष्टि, अस्तव्यस्तता, युवाहरूमा कस्तो–कस्तो, कसरी अघि बढ्ने भन्ने नभएको अन्योलको त्यस्तो स्थितिमा सांसदमा को उठ्छभन्दा, म उठ्छु, कसलाई समानुपातिक चाहिया छ भन्दा, मलाई भन्दै सांसद भइन् अरे। मन्त्री भइन् अरे । कहिले कहिले हुन्छ त्यस्तो, कहिले कहिले आकाशबाट माछा बर्सिन्छ । पानी परेका बेला माछा खस्छ । माछा खस्यो भनेर…।’

डेढ साता अघि मात्र उनले विद्यालय व्यवस्थापन समिति महासंघका प्रतिनिधिसँगको भेटमा सुमना श्रेष्ठको नाम नलिइकन भनेका थिए, ‘विदेशको को केटासँग बिहे गर्या छ रे , नेपाल घुम्न आएकी, मन्त्री पो भइन् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?