‘खरिद–बिक्री’ को सम्भावना ठानेर एमाले–माओवादी–जनमतका सांसदलाई एउटै होटलमा राखियो

लोकपथ
441
Shares

जनकपुरधाम । सत्ता सारथीहरूले साथ छोडेपछि अल्पमतमा परेका मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले आज बुधबार अपरान्ह ३ बजे विश्वासको मत लिने तयारी भइरहेको बेला एमाले, माओवादी र जनमत सम्मिलित विपक्षी गठबन्धनले आफ्ना सांसदहरूलाई जनकपुरको होटलमा आएर बस्न निर्देशन दिएको छ । निर्देशनपछि तोकिएको होटलमा ती दलका सांसदहरु भेला हुने क्रम जारी छ ।

आखिर किन आफ्नै दलका सांसदहरुलाई ती दलले होटलमा बस्ने भने त ? स्रोतका अनुसार सांसद ‘खरिद–बिक्री’को सम्भावना ठानेर विपक्षी गठबन्धनले आफ्ना सांसदहरुलाई एउटै होटलमा जम्मा हुन भनेको हो ।

त्यसो त विश्वासको मत लिने कि राजीनामा दिने भन्ने दोधारमा रहेका मुख्यमन्त्री यादवको ध्यान अहिले विश्वासको मत नै लिने भन्नेमा छ । केहीबेरमा जनकपुरमा बस्ने जनता समाजवादी पार्टी (जसपा)को संसदीय दलको बैठकले यो मामिलामा निर्णय गर्दैछ ।

मुख्यमन्त्री यादवको ‘कन्फिडेन्स’ बढ्दै गएपछि विपक्षी गठबन्धन भने तर्सिन थालेको आभाष हुँदै गएको छ । त्यसैले सांसद ‘खरिद–बिक्री’को सम्भावना ठान्दै उसले आफ्ना सांसदहरूलाई होटलमा आएर बस्न निर्देशन दिएको हो ।

मुख्यमन्त्री यादव भने विश्वासको मत फेस गर्ने अडानमा छन् । उनले आफूसँग ५० जना सांसदको साथ रहेको दाबी गर्दै विश्वासको मत लिने बेलासम्म ‘परिस्थिति’ फरक पनि हुनसक्ने आँकलन गरेका छन् ।

प्रदेश सभामा जसपाका १९ र कांग्रेसका २२ सांसद छन् । लोसपाका सांसदले साथ दिएको अवस्थामा उनलाई अझै ४ जना सांसदको खाँचो पर्छ । यहाँ संघीय समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टीका एक एक जना छन् । यी दुबैको समर्थन पाउन सके र विपक्षी गठबन्धनका थप दुई सांसद तान्न सके विश्वासको मत पाउन सकिन्छ भन्नेमा मुख्यमन्त्री यादव छन् । यस्तै, मधेस प्रदेशमा दुई जना स्वतन्त्र सांसद पनि छन् ।

लोसपाले कसलाई साथ दिने भन्ने निर्णय गरिसकेको छैन । केही बेरपछि बस्ने संसदीय दलको बैठकले विश्वासको मतबारे निर्णय लिँदै छ । तर, लोसपा नेताहरुको औपचारिक÷अनौपचारिक कुराकानीका क्रममा मुख्यमन्त्री यादवलाई साथ दिने देखिन्छ । लोसपाका प्रदेश अध्यक्ष एवं सांसद जितेन्द्र सोनलको आफूहरू लोकतान्त्रिक पक्षधरसँग उभिने भनाइले पनि यो कुराको पुष्टि गर्छ । ‘हामी जहाँ छौ, त्यही रहन्छौं,’ सोनलले भने, ‘संघदेखि प्रदेशसम्म हाम्रो एउटै विचार र लाइन छ । डेमोक्रेसी एलायन्समा बस्ने हो । मतदान प्रक्रियाबारे केहीबेरपछि निर्णय लिइने छ ।’

उता, दुवैतिरबाट दबाबमा रहेको रिजवान अन्सारीको नेपाल संघीय समाजवादी पार्टीका एकमात्र सांसद विमल अन्सारी तरुन्नुम र नागरिक उन्मुक्ति पार्टीकी एकमात्र सांसद उर्मिलादेवी सिंहलाई ‘सुरक्षित’ राख्नमा एमाले, माओवादी र जनमत गठबन्धन लागिपरेको छ । संघीय समाजवादीकी सांसद तरुन्नुमले भने आफ्नो दलले निर्णय गरिनसकेको बताइन् । उनले केहीबेरमा बस्ने बैठकले निर्णय गर्ने जानकारी दिइन् ।

नागरिक उन्मुक्ति पार्टीकी सांसद सिंहले सत्ता गठबन्धनमा रहेकाले मुख्यमन्त्री यादवलाई विश्वासको मत नदिने बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?