फोहर व्यवस्थापन नीति आवश्यक रहेको राष्ट्रिय सभा अध्यक्षको भनाई

लोकपथ
21
Shares

काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले फोहोर व्यवस्थापन गर्न उपयुक्त नीति नहुँदा सरकारलाई चुनौती बढेको बताएका छन् ।

बुधबार काठमाडौंमा ‘फोहोर व्यवस्थापन र जलवायु सम्मेलन २०२४’ उद्घाटन कार्यक्रममा उनले फोहोर व्यवस्थापन लागि उपयुक्त नीति नहुँदा घर समुदाय, उद्योग कारखाना, अस्पताल लगायतका विभिन्न ठाँउबाट निस्किने फोहोर व्यवस्थापन गर्न तीनै तहका सरकारलाई चुनौती बनेको बताए ।

उनले भने, ‘फोहोर व्यवस्थापनको व्यवस्थित नीति नहुँदा हाम्रो घर समुदाय, उद्योग कारखाना, अस्पताल लगायतका विभिन्न ठाउँबाट निस्कने फोहोर व्यवस्थापन गर्न तीनै तहका सरकारलाई चुनौती बनेको छ । हामीले घर, उद्योग, कलकारखाना र विभिन्न क्षेत्रबाट निस्कने फोहोर उचित रुपमा व्यवस्थापन गर्न सकेनौँ भने स्वच्छ वातावरण निर्माण गर्न सक्दैनौँ ।’

उनले जलवायु परिवर्तन र फोहोर व्यवस्थापन विश्व समुदायकै लागि जटिल समस्या भएको भन्दै सबैले यसलाई साझा संकल्प बनाउन आवश्यक रहेको बताए । उनले भने, ‘जलवायु परिवर्तन र फोहोर व्यवस्थापन नेपालको मात्र समस्या होइन । विश्व समुदायकै लागि जटिल समस्या बनेको छ । यसको लागि एउटा जिल्ला, राष्ट्र, देश होइन सिंगो विश्व समुदायले नै साझा संकल्प गर्न आवश्यक छ । फोहोर व्यवस्थापन र स्वच्छ वातावरण निर्माण एकअर्कासँग सम्बन्धित विषय हुन् । यी दुइ विषयलाई हामीले छुट्टाएर हेर्नु हुँदैन ।’

जलवायु परिवर्तनका कारण धेरै क्षेत्रहरु प्रभावित भएको भन्दै सरकारले बजेटमा पनि जलवायु परिवर्तनको विषयलाई गम्भिरताका साथ प्रस्तुत गरेको पनि उनको भनाइ छ । उनले भने, ‘सिमान्तकृत वर्ग यसबाट बढि प्रभावित भएका छन् । जलवायुजन्य प्रकोपबाट हुने क्षति सम्बन्धी अध्यन अनुसन्धान, आधारभूत तथ्यांक संकलनमा कमि हुनु हाम्रो लागि चुनौतीको विषय बनेको छ ।

जलवायु परिवर्तनका कारण कृषि तथा खाद्य जलस्रोत, वन जंगल तथा जैविक विविधता, मानव स्वास्थ्य, उर्जा, सिँचाइ, बसोबास तथा पूर्वाधारमा प्रतिकूल प्रभाव पर्न थालेको छ । यसले बाढी, पहिरो, जीविकोपार्जनमा असर जस्ता जटिल समस्याहरु बढ्दै गएका छन् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?