हत्या आरोपितको बयान : बलात्कारमा फसाइदिन्छु भनेपछि हत्या गरेँ

लोकपथ
1.6k
Shares

दाङ । दाङमा दुई महिलाको हत्या गरेका आरोपमा पक्राउ परेका टेकबहादुर घर्तीविरुद्ध जिल्ला अदालतमा मुद्दा दायर भएको छ ।

रोल्पाको थवाङ घर भएका ५८ वर्षीय टेकबहादुरविरुद्ध जिल्ला सरकारी वकिल कार्यालय दाङका जिल्ला न्यायाधिवक्ता दशरथ गौतमले जन्मकैदको सजाय माग गर्दै मुद्दा दायर गरेका हुन् । प्रहरीले अनुसन्धान टुंग्याएर प्रतिवेदन बुझाएपछि सरकारी वकिल कार्यालयले मुद्दा दायर गरेको हो । अब जिल्ला अदालतमा सोमबारदेखि उनको बकपत्र हुनेछ । त्यसपछि उनलाई पुर्पक्षका लागि थुनामा राख्ने कि थुनाबाहिर राखेर मुद्दाको फैसला गर्ने भन्ने सुनुवाइ हुनेछ ।

अटो चलाएर आफ्नो जीविकोपार्जन गर्दै आएका टेकबहादुरमाथि गत वैशाख २९ गते सुर्खेत घर भई घोराहीमा बस्दै आएकी ४४ वर्षीया संगीता सुनार र रुकुम घर भई घोराहीमै बस्दै आएकी ५० वर्षीया झुपली बुढाको हत्या गरेको प्रहरीको आरोप छ । उनले प्रहरी वयानमा आरोप स्वीकार गरिसकेका छन् ।

दुई महिलाको हत्या गरी भाग्दै गर्दा उनलाई घोराही उपमहानगरपालिका–१० सौडिकुलाबाट प्रहरीले पक्राउ गरेको थियो । भारत जाने उद्धेश्यले अटो छाडेर भाग्दै गरेको अवस्थामा उनलाई प्रहरीले पक्राउ गरेको थियो । घटनास्थलबाट उनलाई पक्राउ गरिएको ठाउँ दुई किलोमिटर मात्र टाढा पर्छ ।

आखिर किन उनले दुई महिलाको हत्या गरे त ? आवेगमा कि पूर्वयोजनाअनुरुप ? प्रहरी समक्ष उनले दिएको वयानमा आवेगमा हत्या गरेको देखिन्छ ।

टेकबहादुरका श्रीमती, तीन छोरी र दुई छोरा छन् । ६ वर्षदेखि अटो चलाउँदै आएका उनको गुजारा नै त्यसैबाट चलिरहेको थियो । तर, आफूले गरिरहेको कामबाट चिनजान भएका एक महिलासँगको ‘नाजायज’ सम्बन्धका कारण यो घटना हुन गएको उनको भनाइ छ ।

उनले हत्या गरेको भनिएकी झुपली बुढा पहेलपारकी स्थानीय वासिन्दा हुन् । त्यहाँ उनको आफ्नै घर छ । झुपलीसँग उनको एक वर्षअघि अटो चलाउने क्रममा भेट भएको थियो । सो भेटपछि नजिकिएका उनीहरु शारीरिक सम्बन्धको तहसम्म पुगेका थिए । झुपलीका श्रीमान भने अमेरिका बस्दै आएका थिए ।

टेकबहादुरले हत्या गरेको भनिएकी अर्की महिला संगीता सुनार भने झुपलीको घरमा भाडामा बस्दै आएकी थिइन् ।

प्रहरीसँगको वयानका क्रममा टेकबहादुरले भनेका छन्, ‘झुपली बुढासँग मेरो अटो चढ्ने/चलाउने क्रममा घोराही बजारमा पहिलोपटक भेट भएको थियो । हामीबीच पछि मोबाइल नम्बर आदानप्रदानसमेत भयो । फोनमा कुरा हुँदै जाँदा हामीबीच मायाप्रेम बढ्दै गयो । उनकी श्रीमान अमेरिका बस्ने रहेछन्, उनले नै मसँग शारीरिक सम्पर्कको प्रस्ताव राखिन् । मेरो श्रीमती र ५ जना सन्तान छन् । श्रीमतीसँगै बस्दै आएकाले मैले उनको प्रस्ताव मानेको थिइनँ । तर उनले शारीरिक सम्बन्धका लागि पटकपटक कर गरिन् । त्यसपछि सहमततिमै ६ महिनादेखि समय समयमा भेटघाट गर्ने र सँगै खाने बस्ने हुन थालेको थियो । सो क्रममा झुपलीकै घरमा १०/१५ पटक शारीरिक सम्पर्क पनि भएको थियो ।’


घटना भएको दिन भएको के थियो ?
प्रहरीसँगको वयानमा उनले भनेअनुसार घटना भएको दिन दिउँसो ३ बजेर ५० मिनेट जाँदा टेकबहादुर अटो चलाउँदै घोराही बजारको लखनपार्क चोक नजिक पुगेका थिए त्यति नै बेला उनलाई झुपलीको फोन आयो । झुपलीले डुम्बरगाउँबाट पुरानो घर पहेलपार जानुपर्ने बताइन् । त्यसपछि टेकबहादुरले अटोमा उनलाई घरसम्म पुर्याइदिए । तर आफूलाई आउन नदिएको र झुपलीकै घरमा डेरा गरी बस्ने संगीता सुनारलाई रक्सी ल्याउन पठाएको उनले बयानमा भनेका छन । उनले भनेका छन्, ‘कुखुराको मासु पकाएपछि हामी तीन जनाले सँगै रक्सी खायौं । तीन बोतल रक्सी खाइसकेपछि म निस्किन खोजेँ, तर झुपलीले संगीताका श्रीमानलाई रक्सी किन्न पठाइन् । मलाई पनि जान दिइनन् र जबर्जस्ती राख्न खोजिन् ।’

‘अब मादकपदार्थ सेवन गर्दिनँ, रात पर्न थाल्यो अटो लिएर घर जानुपर्छ, अब म जान्छु भन्दै बाहिर निस्कन थालेको अवस्थामा झुपलीले मलाई रोकेर तैँलै अझै रक्सी खानपर्छ । आज मेरै घरमा बस्नुपर्छ भनेपछि म इन्कार गर्दै बाहिर निस्कन खोजेको थिएँ । तर उनले अपशब्द प्रयोग गर्दै गाली गरिन् र रक्सी नखाई घर गए विगतदेखि अहिलेसम्म भएको यौन सम्पर्कको बारेमा तेरो नाममा किटानी जाहेरी दिई तँलाई नाङ्गेझार बनाउँछु भनिन्,’ टेकबहादुरको बयान छ ।

झुपलीले आफू र उनीबीच भएको सम्बन्धका बारेमा संगीतालाई पनि भनेको र आफ्नो नाममा जबरजस्ती करणीको कसुरमा प्रहरी कार्यालयमा किटानी जाहेरी दिन्छु भनेको उनले बताएका छन् । झुपलीले जबर्जस्ती करणीको कसुरमा जाहेरी दिएको अवस्थामा परिवारमा सम्बन्ध राम्रो नहुने भएकाले आफूले सहन नसकी हत्या गरेको उनको वयानमा उल्लेख छ ।

झुपली र आफूबीचको सहमतिको सम्बन्धलाई झुपलीले तोडमोड गरेपछि आफूले सहन नसकेको र हत्या गरेर देश छाडेर जाने निर्णयमा पुगेको उनले बताएका छन् ।

त्यसपछि आफूले भान्साकोठामा भएको बन्चरो ल्याएर झुपलीको र संगीताको हत्या गरेको बताएका छन् । आफूहरुको सम्बन्धबारे संगीताले थाहा पाएकाले उनको पनि हत्या गर्नु परेको टेकबहादुरले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?