रास्वपाको ‘क्रिकेट टिम’ को सन्देश

लोकपथ
147
Shares

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमको हौसला बढाउन खेलाडीको जर्सी लाएर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरु प्रतिनिधि सभामा पुगेका थिए । उनीहरुको यो प्रयोग संसदीय इतिहासमै पहिलो थियो र नौलो थियो ।

जननिर्वाचित प्रतिनिधिहरुको यस्तो नवीन सोचमा आधारित प्रयोगले समाजका विभिन्न विधाहरुको प्रगतिमा सहयोग नै हुनेछ । राजनीति नै हो सबैको अगुवाई गर्ने विधा र नीतिनिर्माता । लोकप्रिय हुँदै गएको क्रिकेटमा प्रगति गरिरहेको नेपाल र यहाँका खेलाडीलाई प्रात्साहित गर्दा पक्कै पनि उनीहरुको आत्मविश्वास बढ्नेछ । विश्वले नै नियालिरहेको प्रतिस्पर्धामा नेपालको प्रदर्शनले छाप छोड्न सक्दछ । यो एउटा प्रतिस्पर्धाको प्रसंग हो ।

अर्को सम्भावनाको पक्ष के हो भने रास्वपाका सांसदको नौलो शैलीको ऐक्यबद्धताले देशको चौथो ठूलो राजनीतिक संगठनको उदीयमान खेलप्रतिको प्रतिबद्धता पनि प्रकट भएको छ । यो निकै सकारात्मक पक्ष हो । यसपछि दलहरुले मिलेर खेल क्षेत्रमा विद्यमान विकृति विसंगति र समस्याहरुको समाधान गर्ने बारेमा राष्ट्रिय सहमतिको वातावरण बनाएर समय सुहाउँदो खेल नीति निर्माण गर्नुपर्छ ।

खेलकुदको क्षेत्रमा आफू पनि हस्तक्षेप नगर्ने र अरु दललाई पनि त्यसका लागि वचनबद्ध गर्ने गरी नीति निर्माणमा सहकार्य गर्नुपर्छ । अझ महत्वपूर्ण कुरा के हो भने खेलकुद क्षेत्रलाई देशको उच्च प्राथमिकताको सूचिमा राखेर नीति निर्माण र बजेट विनियोजन गर्नुपर्छ ।

संसदको अधिवेशन चलिरहेका बेला रास्वपाले नौलो सन्देश दिएर यस्ता अत्यावश्यक कार्यहरु गर्ने संकेत पनि दिएको हुनुपर्छ । यही नै उसको उद्धेश्य हो भने यो देशका लागि र सिंगो खेलकुदक्षेत्रका लागि खुशीको विषय हो ।

प्रतिनिधिसभाको बैठकमा नेपाली राष्ट्रिय क्रिकेट टोलीको जर्सी लगाएर सहभागी हुनुले सात समुन्द्रपारी प्रतिस्पर्धा गरिरहेका हाम्रा खेलाडीलाई अवश्य पनि हौसला मिल्ने नै छ ।

रास्वपाले सुरु गरेको यो सकारात्मक प्रयासमा पक्ष प्रतिपक्ष नभनी सबै दलहरुले समर्थन र ऐक्यबद्धता प्रदर्शन गर्दा कैयौं निराशाजनक घटनाले खिन्न भएको नेपाली समाजमा पनि सकारात्मक सन्देश प्रवाह गर्नेछ । अनेकौं असहमतिका बीच पनि यस्ता अवसरमा राष्ट्रिय चिन्तन र व्यवहार प्रदर्शन गर्दा कसैलाई पनि नोक्सान हुँदैन, कसैको कद होचो पनि हुँदैन । देशकै हितमा सुखद सन्देश प्रवाह हुनेछ ।

हुनसक्छ, रास्वपाले आफ्नो नेतृत्व चर्को विवादमा परिरहेका बेला नयाँ प्रयोग गरेर जनतामाझ छवि सुधार्न प्रयास गरेको होला । यो उसको रणनीतिक चाल पनि हुनसक्ला । त्यस्तै हो भने पनि हुन दिनुपर्छ । तर प्रकटमा उसले जुन शैलीको प्रदर्शन गरेको छ, त्यो भने अनुकरणीय नै छ, मान्नुपर्छ ।

पछिल्लो निर्वाचनदेखि नै सत्ता गठबन्धन बनाउने, बदल्ने र फेरि त्यसकै लागि सम्पूर्ण राजनीतिक शक्ति खर्च गर्ने प्रवृत्तिको विकास भैरहेको छ । संसदले सहज यात्रा गर्न नपाइरहेको र जनताका जल्दाबल्दा स्वार्थहरुको सम्बोधन हुन नपाएर असन्तुष्टि चुलिँदै गइरहेको अवस्था छ । सत्ताकेन्द्रित चलखेल र आर्थिक अपचलनका कैयौं विषयमा शीर्ष तहका नेता र सरकारका पदाधिकारीहरु नै मुछिएका घटनाले राजनीतिको छवि नै धुमिल भइरहेको छ । दलहरुबीचको निम्नकोटीको आरोप प्रत्यारोप र मर्यादाहीन आलोचनाले पद्धतिमाथि नै प्रश्न उठाउने आधार दिइरहेको छ । तसर्थ, यस्तो परिस्थितिमा ससाना कुराहरुमा सकारात्मक सन्देश प्रवाह गर्न प्रमुख दलहरुले चित्त फराकिलो पार्नुपर्छ । अनिमात्र ठूलाठूला मुद्धा पनि राष्ट्रिय सहमति जुटाउन मद्धत पुग्ने छ ।

सांसदहरू टी–२० विश्वकप खेल्न अमेरिका पुगेको नेपाली टीमको समर्थनमा जर्सी लगाएर बैठकमा सहभागी भएको दृश्यले सबैका मनमा एक किसिमको नयाँ तरंग फैलाएको पाइएको छ ।

१० वर्षपछि टी–२० विश्वकप खेल्न लागेको नेपालको पहिलो खेल नेदरल्यण्डससँग आज राति हुँदैछ गर्दैछ । समूह ‘डी’को पहिलो खेल नेपाली समय अनुसार राति सवा ९ बजेबाट सुरु हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?