गौर नगरपालिकाले सञ्चालनमा ल्यायो कृषि एम्बुलेन्स

लोकपथ
0
Shares

रौतहट । रौतहटमा उत्पादित कृषि उपजको बिक्री वितरणलाई सहज बनाउने उद्देश्यका साथ गौर नगरपालिकाले कृषि एम्बुलेन्स ल्याएको छ।

किसानको उत्पादन बजारसम्म लगेर विक्री वितरणमा सहजीकरण गर्ने उदेश्यले नगरपालिकाले कृषि एम्बुलेन्स खरिद गरेर ल्याएको हो।

कृषि एम्बुलेन्स सोमबारदेखि औपचारिक रुपमा सञ्चालनमा आएको नगरपालिकाले जनाएको छ। कृषि एम्बुलेन्समार्फत नगरपालिकाका विभिन्न वडामा उत्पादित कृषि उपज किसानको घरघरबाट उठाएर बिक्री वितरण गर्न बजारसम्म लगिदिने व्यवस्था मिलाइएको छ।

गौर नगरपालिकाका नगर प्रमुख शम्भु साह कानुका अनुसार किसानले उब्जाएको कृषि उपज, फलफुल तथा नगदे बालीको ढुवानीमा सहज हुनेछ। कृषकलाई घर तथा खेतसम्म सेवा दिनको लागि कृषि प्राविधिकको उपयोगको लागि कृषि एम्बुलेन्स सञ्चालनमा ल्याइएको उनको भनाई छ।

कृषकले उत्पादन गरेका बालीको ढुवानी तथा बजारीकरणमा नै समस्या आएकाले सम्भवत यस जिल्लामा नै पहिलो पटक कृषि एम्बुलेन्स संचालनमा ल्याइएको उनले दाबी गरेका छन्।

उनले कृषक, पशुपालक, कुखुरा व्यवसायीले पनि कृषि एम्बुलेन्सले सहयोग लिन सक्ने बताए। कृषि र पशुपक्षी सम्बन्धी सम्पूर्ण समस्या समाधानका लागि कृषि प्राविधिक ठाउँको ठाउँ उपलब्ध गराउन कृषि एम्बुलेन्सले नगरका किसानको हकमा महत्वपूर्ण काम गर्ने नगरप्रमुख साहको भनाइ छ।
गाउँका कृषक नागरिकको जनजीवन उकास्न व्यवसायिक कृषि उद्यम नै प्रमुख माध्यम भएको ठहर गर्दै त्यसलाई प्रबद्र्धन गर्न कृषि एम्बुलेन्स उपयोगी हुने बुझाई छ।

एम्बुलेन्स पाएपछि स्थानीय कृषकहरु खुसि भएका छन्। यसअघि कृषक उत्पादन गर्ने सामग्री विक्री नभएर बारीमै कुहाउनुपर्ने बाध्यता भइरहेको बेला एम्बुलेन्स पाएपछि अब बेच्न सहज हुने कृषकहरु बताउँछन्। कृषि नै आयआर्जन र समृद्धिको आधार भएको भन्दै कृषि प्रबद्र्धन गर्न गौर नगरपालिकाले वर्षेनी बजेट छुट्याउने गरेको छ।

गौर नगरपालिकाले कृषि क्षेत्रलाई बिशेष प्रथामिकता दिदै आएको समेत उल्लेख गरेको छ । किसानलाई नयाँ र आधुनिक खालको बिउबिजन निःशुल्क उपलब्ध गराउनेदेखि उत्पादित कृषि उपज व्यवस्थापन बिक्री वितरण गर्नेसम्म गौर नगरपालिकाले सहयोग गर्दै आएको जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?