वैदेशिक रोजगारीबाट फर्किएकाको स्वास्थ्य परीक्षण व्यवस्था माग

लोकपथ
63
Shares

काठमाडौं । नेपाली कांग्रेसका सांसद तथा पूर्वमन्त्री दीपक गिरीले विदेशबाट काम गरेर फर्किएका नेपालीहरुलाई तीन महिनाभित्र अनिवार्य स्वास्थ्य परीक्षणको व्यवस्था गर्न सरकारसँग माग गरेका छन् ।

सोमबार प्रतिनिधि सभाको बैठकमा शून्य समयमा बोल्दै उनले मुलुकमा मृगौलाका कुल बिरामीमध्ये झण्डै ३० प्रतिशत खाडी मुलुकमा काम गरेर फर्केका नेपाली रहेको तथ्यांकहरुले देखाएको जनाए ।

‘त्यसैले म विदेशबाट पÞmर्किएका नेपालीहरुलाई तीन महिनाभित्र नजिकको सरकारी अस्पतालमा गएर अनिवार्य स्वास्थ्य परीक्षण गर्न र यदि कुनै उपचार गर्नुपर्ने भए उपचारको सम्पूर्ण खर्च वैदेशिक रोजगार बोर्ड र सामाजिक सुरक्षा कोषबाट व्यहोर्ने व्यवस्था मिलाउन नेपाल सरकारसँग जोडदार माग गर्दछु,’ उनले भने ।

रेमिटान्सले नेपाली अर्थतन्त्र धानिइरहेको भए तापनि यसका लागि नेपालीले ठूलो मूल्य पनि तिर्नु परिरहेको उनले बताए । वैदेशिक रोजगारमा गएका नेपालीको स्वास्थ्यको हेरविचार गर्ने जिम्मा पनि राज्यको भएको उनको भनाइ छ ।

वैदेशिक रोजगार बोर्डका अनुसार विदेश पुगेका नेपाली श्रमिकमध्ये आर्थिक वर्ष २०७७/७८ को तुलनामा २०७८/७९ मा मृत्यु हुनेको संख्या ५ प्रतिशत वृद्धि भएको छ भने २०७९/८० मा १ प्रतिशत घटेको छ ।
त्यस्तै, अंगभंग तथा बिरामी श्रमिकको दर २०७७/७८ मा १८.५० प्रतिशत रहेकोमा २०७८/७९ मा ३१.९५ र २०७९/८० मा ४९.५४ प्रतिशतले वृद्धि भएको छ।

मृत्यु हुने श्रमिकको संख्यामा कमी आए तापनि अंगभंग हुने तथा बिरामीको दर बढ्दो क्रममा रहेको महालेखा परीक्षकको वार्षिक प्रतिवेदनमै उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?