५२०० मिटर उचाईमा पुगेर सशस्त्र प्रहरीले गर्यो सीमा स्तम्भको अनुगमन

लोकपथ
294
Shares

काठमाडौं । सशस्त्र प्रहरी बलले बझाङ जिल्लाको साइपाल गाउँपालिका–४ उरईस्थित नाग्ना डाँडामा नेपाल र चीनको स्वशाषित क्षेत्र तिब्बतबीचको सीमामा रहेको सहायक सीमा स्तम्भ (सीमा चिन्ह) नं. २ को अनुगमन गरेको छ । सशस्त्र प्रहरी बल नेपाल आश्रित गुल्म बझाङबाट सशस्त्र प्रहरी नायव उपरीक्षक जनकराज पन्तको कमाण्डमा यही जेठ १३ गते त्यसतर्फ गएको सुरक्षा फौज १७ गते बिहान सीमा स्तम्भ भएको स्थानमा पुगेको थियो ।

सशस्त्र प्रहरी बलका केन्द्रीय सहप्रवक्ता एवं सूचना शाखा प्रमुख सशस्त्र प्रहरी नायव उपरीक्षक शैलेन्द्र थापका अनुसार, समुन्द्र सतहबाट ५ हजार २ सय मिटर उचाई तथा भौगोलिक रुपमा अत्यन्त विकट र हाई अल्टिच्युडका बाबजुद सशस्त्र प्रहरी बलको टोली पहिलो पटक त्यहाँ पुगेको हो । जेठ १३ गते त्यसतर्फ गएको टोलीले १७ गते सीमा स्तम्भ तथा सीमाक्षेत्रको अनुगमन गरी २० गते सदरमुकाम फिर्ता भइसकेको छ ।

साइपाल गाउँपालिका–४ धुलीसम्म मानव बस्ती रहेको स्थानबाट ३ दिन पैदल यात्रा पछिमात्र पुग्न सकिने सीमास्तम्भ सदरमुकामबाट १ सय १७ किलोमिटरको दूरीमा रहेको छ । सदरमुकामबाट २८ किलोमिटर सवारी साधनमा गएको फौज बाँकी पैदल गएको थियो । सीमा स्तम्भ भएको स्थानसम्म पुग्न सशस्त्र प्रहरीको टोली बीच बीचमा पाल टागेर बसेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?