हावाहुरीले साढे २ हजार बिघामा गरिएको केरा खेतीमा क्षति

लोकपथ
0
Shares

चितवन । जिल्लामा लगाइएको केरा खेतीमा केही दिनअघि आएका हावाहुरीले ठूलो क्षति पुगेको छ।

चितवन केरा उत्पादक सङ्घका अध्यक्ष माधवप्रसाद घिमिरेका अनुसार केही दिनयता आएको हावाहुरीका कारण जिल्लामा लगाइएको २ हजार ५ सय बिघा क्षेत्रफलको केरा खेतीमा क्षति पुगेको हो।

पूर्वी चितवनमा लगाइएको केरा खेतीमा बढी मात्रामा क्षति पुगेको उनले बताए।

‘पूर्वी चितवनको रत्ननगर, कालिका र खैरहनी नगरपालिकामा लगाइएको केरा खेतीमा ठूलो क्षति भएको छ,’ घिमिरेले भने।

जिल्लामा लगाइएको ४० लाख ८७ हजार पाँच सय केरामा क्षति पुगेको उनले बताए। उनका अनुसार फल लाग्ने समयका केरामा हावाहुरीका कारण क्षति पुगेको छ।

सङ्घका महासचिव जनक पन्तका अनुसार हावाहुरीका कारण केरामा रु १२ करोड बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ।

सत्तरी जना व्यावसायिक किसानको केरा पूर्णरुपमा क्षति भएको छ भने अन्यको आंशिक क्षति भएको उनले बताए।

९० प्रतिशत किसानले केराको बिमा गरेको र १० प्रतिशत किसानले बिमा नगरेको उनले जानकारी दिए।

बिमा गरेका किसानले क्षति भएबापत केही रकम पाउने भए पनि बिमा नगरेका किसानको पूर्ण क्षति हुने उनले बताए।

जिल्लामा हाल तीन हजार पाँच सय बिघाा क्षेत्रफलमा केरा खेती गरिँदै आएको छ। उनका अनुसार यहाँ सात सय जना किसानले केरा खेती गरेकोमा हावाहुरीले एक सय ६५ जना किसानको केरामा क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ। वास्तविक तथ्यांक आउने केही समय लाग्ने उनले जानकारी दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?